'रविलाई सिध्याउन सके रास्वपा सिध्याउन सकिन्छ भनेर कांग्रेस र एमाले लागेका छन्'
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले पार्टी सभापति रवि लामिछानेलाई सिध्याउन सके रास्वपा सिध्याउन सकिन्छ भनेर कांग्रेस र एमाले लागेको बताएका छन् ।
लामिछाने पक्राउको विरोधमा पोखरामा आज भएको सडक प्रदर्शनमा उनले पुराना दलले रास्वपा सिध्याउने दिवास्वप्न मात्र देखेको उल्लेख गरेका हुन् । उनले रास्वपा रवि लामिछानेको लागि नभई नयाँ पुस्ताका लागि केही गर्न आएको पार्टी भएकोले अभियान सक्काउन नदिन सबैलाई आग्रह गरे ।
आफ्नो स्वार्थ पूरा गर्न राजनीतिक प्रतिशोधका आधारमा लामिछानेलाई पक्राउ गरेको र संसदीय छानबिन समितिले समेत सहकारीको रकम ऋण लिएको नभेटेको बताए । दुई तिहाइको दम्भका आधारमा पक्राउ गरेको बताउँदै सरकार मरे पनि न्यायालय नमरेकोले न्याय पाउने विश्वास व्यक्त गरे ।
उनले सहकारी पीडितहरूको बचत फिर्ता गराउने कुरामा सरकारलाई मतलब नभएकोले अब बचत फिर्ता गराउने कुराको नेतृत्व रास्वपाले गर्ने उल्लेख गरे । उनले संसदीय समितिको प्रतिवेदन आएको ३ महिनासम्म पनि सरकारले कुन बैठकले सहकारी बचतकर्ताको रकम फिर्ता गर्ने निर्णय गरेको छ भन्दै प्रश्न गरेका छन् ।






