sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

पर्वत ट्राफिकले पहिलो त्रैमासमा उठायो झण्डै २३ लाख

२ कार्तिक २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो त्रैमासमा झण्डै २३ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष २०८०/०८१ को एक वर्षको अवधिमा एक करोड एक लाख १७ हजार रुपैयाँ सङ्कलन गरेको ट्राफिकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २२ लाख ९५ हजार रुपैयाँ सङ्कलन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका अनुसार तीन महिनाको अवधिमा कुल एक हजार आठ सय ९९ वटा सवारी साधनहरूलाई कारबाही गरिएको छ ।

साउन महिनामा ७० वटा ट्रक तथा टिप्पर, ४७ वटा बस, दुई सय २० वटा कार तथा जिप, ३४ वटा ट्र्याक्टर, दुई सय २५ वटा मोटरसाइकल र अन्य छ वटा विविध सवारी साधन गरी कुल छ सय ११ लाई कारबाही गर्दा पाँच लाख ७५ हजार रुपैयाँ राजश्व उठेको छ । भदौमा ९६ वटा ट्रक तथा टिप्पर, ५० वटा बस, तीन सय पाँच वटा कार तथा जिप, २९ वटा ट्र्याक्टर, दुई सय ३५ वटा मोटरसाइकल र अन्य आठ गरी कुल सात सय ३३ वटा सवारीलाई कारबाही गर्दा छ लाख ८५ हजार पाँच सय रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

त्रैमासका तीन महिनामध्ये सबैभन्दा बढी राजश्व असोज महिनामा सङ्कलन भएको छ । साउन महिनाको तुलनामा झन्डै दोब्बरले बढी राजश्व उठेको छ। यो महिनामा एक सय १० वटा ट्रक तथा टिप्पर, ७४ वटा बस, चार सय ८५ वटा कार तथा जिप, ३७ वटा ट्र्याक्टर, दुई सय ८५ वटा मोटरसाइकल र पाँच वटा अन्य सवारी गरी कुल नौ सय ९५ वटा सवारी साधनहरूलाई कारबाही गर्दा १० लाख ३४ हजार पाँच सय रुपैयाँ राजश्व उठेको छ ।

सवारी साधनहरूको बढ्दो चापसँगै पछिल्ला वर्षहरूमा राजश्व सङ्कलनको दर पनि बढ्दै गइरहेको ट्राफिक प्रहरीको तथ्याङ्कले  देखाएको छ । आर्थिक वर्ष ०७८/०७९ मा नौ हजार नौ सय सवारी साधनलाई कारबाही गर्दा ६२ लाख ५४ हजार पाँच सय, आर्थिक वर्ष ०७९/०८० मा ११ हजार दुई सय ५० सवारी साधनलाई कारबाही गर्दा ९४ लाख ५१ हजार तथा आर्थिक वर्ष ०८०र०८१ मा १२ हजार तीन सय ६५ सवारी साधनलाई कारबाही गर्दा एक करोड एक लाख १७ हजार रुपैयाँ राजस्व उठेको थियो ।

पछिल्ला तीन महिनामा राजश्व ९.२६ प्रतिशतले घटेको देखिएको छ । अघिल्लो आर्थिक वर्षको १२ महिनाको औसतको तुलनामा यो कमी भएको हो । अघिल्ला आर्थिक वर्षहरूको तथ्याङ्क हेर्दा पहिलो त्रैमासको तुलनामा दोस्रो र तेस्रो त्रैमासमा राजश्व सङ्कलनको दर बढी देखिएको छ।  यही दरमा राजश्व उठेमा अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष झनै बढी राजश्व उठ्ने अनुमान छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्