प्रचण्डको आह्वानमा प्रतिपक्षी दलहरूको बैठक जारी
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी लगायतका प्रतिपक्षीदलहरुको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा जारी छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को आह्वानमा यो बैठक बसेको हो । समसामयिक राजनीतिक विषय र बाढीपहिरो पछिको अवस्थाबारे छलफल गर्नकालागि अध्यक्ष दाहालले बैठक बोलाएको जनाइएको छ । बैठकमा दाहाल सहित नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर, शक्ति बस्नेत सहभागी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा एमालेले विवादास्पद व्यवसायी मीनबहादुर गुरुङबाट पार्टी भवन निर्माणकालागि १० रोपनी १४ आना जग्गा दान लिएको विषयलाई लिएर राजनीति तरङ्गीत रहेका बेला बोलाइएको यो बैठकलाई महत्वका साथ हेरिएको छ । ओली सरकारको ९० दिनको समिक्षा समेत बैठकमा गरिने बताइएको छ ।






