साफ महिला च्याम्पियनसिप आजदेखी, उद्घाटन खेलमा पाकिस्तान र भारत प्रतिस्पर्धा गर्दै
काठमाडौं । साफ महिला च्याम्पियनसीप फुटबलको सातौँ संस्करण आजबाट सुरु हुँदैछ । नेपालले लगातार तेस्रो पटक आयोजना गर्न लागेको यो प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान र भारतबीच प्रस्तिपर्धा हुने भएको छ ।
समूह ए मा रहेका यी दुई टोलीबीचको खेल आज साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । समूह ए मा भारत र पाकिस्तानसँगै बंगलादेश पनि रहेको छ । समूह बि मा रहेको नेपालले भने आफ्नो पहिलो खेलमा शुक्रबार साँझ भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।
सातौँ संस्करणसम्म आइपुग्दा भारतलले पहिलोदेखि ५ औँ सम्म लगातार उपाधि जितेको थियो भने पछिल्लो संस्करण बंगलादेशले जितेको थियो । ५ पटक फाइनलमा पुगेर पनि नेपालले उपाधि जित्न सकेको छैन । सन् २०१० को पहिलो संस्करण, २०१२ को दोस्रो , २०१४ को तेस्रो , २०१९ को ५ औँ र २०२२ को छैटौँ संस्करणमा फाइनलसम्म पुगेको नेपाल सन् २०१६ को चौथो संस्करणमा सेमिफाइलमै रोकिएको थियो ।
समूह बि मा श्रीलंका, माल्दिभ्स र भुटानसँगै रहेको नेपालले सहज प्रतिद्वन्दी पाएकाले सेमिफाइनलसम्मको यात्रा सहज हुने अनुमान गरिएको छ । संभवत् सेमिफाइनलमा बंगलादेश या भारत नै प्रतिस्पर्धी पाउने आँकलन गरिएको छ। पछिल्लो पटक २०२२ मा काठमाडौंमा भएको साफमा भारत समूह चरणमा बंगलादेशसँग र सेमिफाइनलमा नेपालसँग हारेको थियो ।

.gif)