मन्थली-खुर्कोट जोड्ने सुनकाेशीमा बेलिब्रिज बनाउन राज्यमन्त्री तामाङ सक्रिय
काठमाडाैं । असोज ११ र १२ गते सुनकोशीमा आएको भीषण बाढीले बगाएको रामेछाप (मन्थली)-सिन्धुली (खुर्कोट) जोड्ने पक्की पुलमा बेलिब्रिज हाल्नको लागि ऊर्जा राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) सक्रिय रूपमा लागिपरेका छन् ।
रामेछाप जोड्ने लाइफ लाइनको रूपमा रहेको उक्त पुलमा बेलिब्रिज निर्माण गर्ने जिम्मा सेनालाई दिएपनि राज्य मन्त्री तामाङ शुक्रबार मकवानपुर हेटौँडा पुगेर बेलिब्रिज पुलका सामाग्रीहरू लोड गराएका छन् ।
रामेछापबाट निर्वाचित तामाङको विशेष पहलमा अब उपकरणहरू नेपाली सेनाले जोड्ने काम तत्काल थाल्ने र सकेसम्म दशैँअघि नै पुल सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । रामेछापको प्रमुख र छोटो सडक मार्ग जोड्ने यो पुल बगाएपछि जिल्लामा निकै समस्या भएको छ ।






