sevenstartv.com १६ असार २०८३, मङ्गलवार

आजका प्रमुख सात समाचार

१७ असोज २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । 

विद्युत निर्यात

बंगलादेश विद्युत निर्यातको लागि त्रिपक्षीय ऊर्जा विक्री सम्झौता पीएसए भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय विद्युत विक्री सम्झौता भएको हो । उक्त सम्झौतासँगै नेपालबाट तेस्रो मुलुकमा औपचारिक रुपमा विद्युत निर्यात गर्ने बाटो खुलेको हो । बंगलादेश विद्युत निर्यातको लागि त्रिपक्षीय ऊर्जा विक्री सम्झौतामा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बंगलादेश पावर डेभपलमेण्ट बोर्ड बीपीडीबीका अध्यक्ष मो. रेजुल करिम र भारतको एनटीपीसी विद्युत व्यापार निगम एनभीभएनकी सीईओ रेनु नारंगले हस्ताक्षर गरेकी छन् । 

सम्झौता भएसँगै नेपालले पहिलो चरणमा बंलादेशलाई ४० मेगावाट विद्युत निर्यात गर्ने भएको छ । नेपालले विगत तीन वर्षदेखि भारतमा विद्युत निर्यात गर्दै आएको छ । बंलादेशमा विद्युत निर्यातको लागि भारतको प्रशारण लाइन हुँदै लैजानुपर्ने भएकाले त्रिपक्षीय सम्झौता भएको हो । सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै विद्युत प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङले त्रिपक्षीय विद्युत व्यापार सम्झौता दक्षिण एशियाको ऊर्जा सहकार्यमा कोशेढुंगा भएको दाबी गरे । उनले सम्झौतासँगै ऊर्जा क्षेत्रमो सबरिजनल र रिजनल सहकार्यको ढोका खोल्ने बताए । 

भौतिक मन्त्रालय

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अवरुद्ध विपी राजमार्ग दशैँअघि नखुल्ने बताएको छ । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध विपी राजमार्ग दशैँ अगाडी सञ्चालनमा नआउने जानकारी दिए । यद्यपी खुलाउने प्रयास भने जारी राखिने उनको भनाई छ ।

मन्त्री दाहाल

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले असोज ११ र १२ गते सरकारको पूर्वसूचना विपरित यातायातका साधन सञ्चालन गरिएको भन्दै यस सम्बन्धाम छानविन भइरहेको बताएका छन् । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री दाहालले जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दागर्दै रात्रिकालिन बस चलाइएको भन्दै सो विषय खोजीको विषय भएको बताए  । 

उनले विपद् भएका ठाउँमा सम्बन्धित प्रहरी निकायहरुले बस नरोकेको भन्दै त्यस सन्दर्भमा कारबाहीको प्रक्रिया अगाडी बढेको बताए । उनले वैकल्पिक राजमार्गबाट यात्रुहरुलाई काठमाडौं बाहिर जानुपर्दा यातायात व्यवसायीले केही रकम बढी लिनु स्वभाविक भएको भन्दै अध्याधिक भाडा बढाएमा भने अनुगमन हुने बताएका छन् । 

पूर्वराजा

पूर्वराजा ज्ञानेन्द्र शाह निजी भ्रमणका क्रममा भुटान पुगेका छन् । उनी ५ सदस्यीय टोलीसहित भुटानको राजधानी थिम्पुमा अवतरण भएका हुन् । पूर्वराजासँग पूर्वअधिकारकुमारी छोरी प्रेरणा र पूर्वशाहज्यादी भतिजी शिताष्मा पनि छन् । पारिवारिक सदस्य राजु सिंह पनि भ्रमण दलमा छन् । 

भुटानको राष्ट्रिय ध्वजावाहक ड्रुक एयरलाइन्सबाट गएका पूर्वराजालाई स्वागत गर्न बिमानस्थलमा रातो कार्पेट ओछ्याइएको थियो । भुटानकी राजकुमारी बिमानस्थलमा रिसिभ गर्न पुग्नुभएको थियो । पूर्वराजाले भुटानी राजासँग भेटवार्ता गर्ने बुझिएको छ । यो भ्रमणको प्रयोजन खुलाइएको छैन । पूर्वराजाका तर्फबाट भ्रमण गर्ने सूचनाबाहेक अरु विवरण सार्वजनिक भएका छैनन् ।

पेट्रोलियम लाइन

भारत सरकारको अनुदान सहयोगमा दुई पेट्रोलियम पाइपलाइन बन्ने निश्चित भएको छ । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा। चण्डिका प्रसाद भट्ट र इण्डियन आयल कर्पोरेशनका निर्देशक सेन्थल कुमार बीच पेट्रोलियम पाइपलाइन र भण्डारण क्षमता निर्माण सम्बन्धी सम्झौता भएको हो । बीटूबी फ्रेमवर्क एग्रिमेन्ट भारत सरकारका पेट्रोलिमय तथा नेचुरल ग्यास सचिव पंकज जैन र इन्डियन आयल कर्पोरेसनका अध्यक्ष सतिस कुमारको उपस्थितिमा बिहीबार भएको हो । 

सम्झौता अनुसार भारतको सिलिगुडीदेखि नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन र झापाको आरआलीमा १८ हजार ९ सय किलोमिटर क्षमताको स्मार्ग ग्रिनफिल्ड टर्मिनल भारत सरकारको अनुदानमा निर्माण हुने भएको छ । नेपालको अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६२ किलोमिटर लामो पेट्रोलिम पाइपलाइन परियोजना समेत भारत सरकारको अनुदानमा निर्माण हुने भएको छ । चितवनको लोथरमा ९१ हजार ९ सय किलोलिटर क्षमताको स्मार्ट ग्रिनफिल्ड टर्मिनल भारत सरकारको प्राविधिक सहयोगमा नेपाल आयल निगमको लगानीमा निर्माण हुने भएको छ । यी परियोजनाहरूको कुल लागत १५ अर्ब रुपैयाँ अनुदान रहने निगमले जनाएको छ ।

च्याङग्रा

हिन्दु नेपालीहरुको महान चार्ड दशैंका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य घटेको छ । च्याङग्राको सङ्ख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्याङग्राको मूल्य महंगो हुँदा व्यापार नभएपछि यसपटक कृषकहरुले नै बिक्री मूल्य घटाएको बताइएको छ । गतवर्ष खोरमै प्रतिगोटा ४० हजार भन्दा बढी मूल्य तिरेर व्यापारीहरुले च्याङग्रा खरिद गरेका थिए । यसवर्ष व्यापारीहरुले ३० देखि ३३ हजारमा किसानबाट च्याङग्रा खरिद गरेको बताएका छन् । ठाउँ अनुसार पाँच देखि १० हजार कम मूल्यमा च्याङग्रा खरिद भएकाले बिक्री गर्ने मूल्य पनि घटाएको बताइएको छ । 

गतवर्ष काठमाडौ पोखरामा प्रतिगोटा ५५ हजार रुपैयाँसम्म परेको च्याङग्राको मूल्य यसवर्ष ४५ हजार भन्दा कम पर्नेछ । गतवर्ष बजारमा ल्याएको च्याङग्रा महंगी हुँदा बिक्री नभएर व्यापारीले नोक्सान व्यहोरेको गुनासो गरेका थिए । मुस्ताङ, डोल्पा र मुगुबाट ल्याइएका च्याङग्राहरु दसैमा बिक्रीका लागि म्याग्दी हुँदै देशका विभिन्न सहर बजारमा पुग्न थालेका छन् । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौ लगायत ठाउँबाट च्याङग्रा खरिद गर्नका लागि व्यापारीहरु मुस्ताङ पुगेर फर्किन थालेका हुन् । दसैं तिहारमा हिमाली च्याङग्राको मासुको खपत बढी हुने गर्दछ । यसवर्ष दसैंका लागि मुस्ताङबाट दश हजार च्याङग्रा बिक्री हुने अनुमान गरिएको छ ।

एशिया रग्बी

पहिलोपल्ट घरेलु भूमिमा एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा प्रतिष्पर्धा गर्न लागेको नेपालको महिला र पुरुष टोली सुखद् प्रदर्शन गर्ने लक्ष्यमा छ ।
नेपालको पुरुष या महिला टोली पहिलोपल्ट सिनियरस्तरको एसिया रग्बी सेभेन्स ट्रफी घरेलु भूमिमा शुक्रबारदेखि खेल्दैछ । सिर्जना राईको कप्तानीमा रहेको नेपाली टोली र विक्रम पुरीको कप्तानीमा रहेको पुरुष टोलीले यसपल्ट सुखद् प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । घरेलु भूमिमा हुने सेभेन्स ट्रफीलाई विशेष बनाउन नेपाली टोलीले करिव तीन महिनादेखि बन्द प्रशिक्षणसमेत गरेको छ । न्युजिल्याण्डका प्रशिक्षक फ्रेड मोए, नेपालका पूर्वकप्तान तथा प्रशिक्षक कृष्ण क्षेत्री र विनोद तामाङले नेपाली टोलीलाई प्रशिक्षण दिएका थिए । 

नेपालमा तेस्रोपल्ट एसियाली स्तरको रग्बी प्रतियोगिता हुन लागेको हो । एशिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ हुन लागेको हो । शुक्रवारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले बिहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । यस सेभेन्स ट्रफीमा एशियाका १६ राष्ट्रले प्रतिस्पर्धा गर्ने भएकाछन् । पुरूषमा १४ र महिलामा सात राष्ट्रले प्रतिस्पर्धा गर्ने भएका हुन् । महिलामा आठ राष्ट्रको चुनौती तय थियो । आन्तरिक कारणले इरानको सहभागिता नभएको हो ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्