स्थानीय तह उपनिर्वाचन : मंसिर २ गते उम्मेदवारी दर्ता
काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगले स्वीकृत गरेको तालिकाअनुसार मंसिर २ गते बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।
सोही दिन बेलुका ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गरिने छ । मंसिर ३ गते दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ । मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ तथा निर्णय गरिनेछ । मंसिर ५ गते उम्मेदवारको नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गरिने र दिउँसो ३ बजेदेखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।
निर्वाचन कार्यक्रमअनुसार मंसिर १६ गते विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ । मतदान शुरु हुनुभन्दा ४८ घण्टाअगाडि अर्थात मंसिर १३ गते राति १२ बजेपछि प्रचारप्रसार निषेध अवधि लागू हुने आयोगले जनाएको छ ।






