आजका प्रमुख सात समाचार
काठमाडौं ।
शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा रहेका बेला उनीविरुद्ध सामाजिक सञ्जालमार्फत भइरहेका गतिविधि देशहित विपरीत र खेदजनक रहेको बताएका छन् । धनगढीमा प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री ओलीविरुद्ध त्यहाँ कुनै प्रकारको विरोध प्रदर्शन नभएको र उनको भ्रमण अत्यन्त सफल ढंगले भइरहेको दाबी गरेका हुन् ।
महासचिव पोखरेलले सहकारी प्रकरणका सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि लागेको आरोपको अनुसन्धान रोक्न भइरहेका गतिविधि कानुनी राज्यमाथिको उपहास भएको बताए । मुलुकको लोकतन्त्रलाई सही दिशामा लैजानका लागि नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन गरेको उनको भनाइ छ ।
जीवी मुद्दा
प्रहरीको फरार सूचीमा रहेका ओखलढुंगाका गितेन्द्रबाबु ९जीबी० राईसहित १७ जनाविरुद्ध फेरि अर्को मुद्दा दर्ता भएको छ । जीवीविरुद्ध चितवनको साहारा सहकारीको रकम अपचलन गरेको आरोपमा चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो । यसअघि, जीबीविरुद्ध पोखराको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीमा ठगी गरेको मुद्दा दर्ता भइसकेको छ ।
राईसहित १७ जनालाई प्रतिवादी बनाउँदै जिल्ला सरकारी वकिल कार्यालय चितवनले सहकारी ठगी कसुरमा मुद्दा दर्ता भएको हो । प्रतिवादी बनाइएकाहरूमा सहकारीका संस्थापक अध्यक्ष जीबीसहित सागर केसी, थानबहादुर बुढामगर, कुमार रम्तेल, भुपेन्द्र राई, हेमन्त राई, आशिष आनन्द छन् । त्यस्तै, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, वीरबहादुर रानाभाट, शरण विश्वकर्मालाई प्रतिवादी बनाइएको छ ।
साहारा सहकारीबाट ४४६ बचतकर्ताको ३७ करोड ६५ लाख रुपैयाँ अपचलन भएको खुलेको छ । प्रतिवादीहरूमध्ये सागर केसी र कुमार रम्तेल थुनामै छन् । जीबी राई अझै परार छन् । उनलाई पक्राउ गर्न प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन इन्टरपोलमार्फत ‘रेड नोटिस’समेत जारी भइसकेको छ ।
दुर्गा प्रसाईं
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । विद्युतीय कारोबार ऐन-२०६३ अनुसार अनुसन्धान गर्न यसअघि ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो ।
असोज ६ मा पक्राउ परेका प्रसाईंलाई अनुसन्धान गर्नका लागि साइबर ब्यूरोले ७ दिनको समय मागेर बुधबार अदालतमा पेस गरेको हो । प्रसाईंविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एकजना महिलाले आफ्नो ‘चरित्रहत्या गरेको’ भन्दै जाहेरी दिएकी थिइन् । अर्का एकजना पुरुषले पनि उनीविरुद्ध जाहेरी दिएको साइबर ब्यूरोका एसपी भागेन्द्रपुरुष ढकालले बताए । आरोप पुष्टि भएमा ५ वर्षसम्म कैद सजाय र एक लाखसम्म जरिवाना हुने व्यवस्था छ ।
नेपाल बार
न्यायपरिषद्ले संविधान विपरित न्यायाधीश नियुक्ति सिफारिस गर्न लागेको भन्दै नेपाल बार एशोशिएशनले बुधवार पनि बिरोध प्रदर्शन गरेको छ । नेपाल बारले नेपालको संविधानको धारा १४१ को ९१० र ९३० को विपरित हुनेगरी विदाई हुने बेलामा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको न्याय परिषद्ले न्यायाधीश नियुक्तिको सिफारिसका लागि बैठक बोलाउने निर्णय गरेको भन्दै त्यसको विरोधमा बाध्य भएर खबरदारी सभा लगायतका बिरोधको कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी गराएको हो ।
यसअघि पनि बारले न्याय परिषद्को बैठकमा धर्ना दिएपछि ती समस्या समाधानका लागि सुझाव दिन कार्यदल गठन गरिएको थियो । तर सो कार्य दलमा समेत कुनै कुरा नराखिकन न्याय परिषद्को बैठकबाट न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने असंवैधानिक कदम अघि बढाउने प्रयास गरेपछि बाध्य भएर निरन्तर रुपमा धर्नालगायतका विरोध प्रदर्शनका कार्यक्रम अघि बढाउने निर्णय लिनुपरेको बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले बताए । उनले संविधान विपरित सो परिषद्ले न्यायाधीश नियुक्तिका लागि सिफारिस गरे आफूहरुले बहिष्कार गर्ने चेतावनी समेत दिएका छन् ।
मौसम
जल तथा मौसम विभागले आगामी आइतबार विहान सम्म सातै प्रदेशमा भारी वर्षा हुने जनाएको छ । विभागले बुधबार दिउँसो विशेष मौसम बुलेटिन जारी गर्दे देशका केहि स्थानमा अत्याधिक वर्षा हुने भन्दै चेतावनी दिएको हो । यो अवधिमा बाढी पहिरोका घटनासमेत बढ्नसक्ने भएकाले महाशाखाले सात प्रदेशका ५६ वटा जिल्लालाई उच्च सावधानी अपनाउनुपर्ने अर्थात् ’रेड अलर्ट’ मा राखेको छ ।
वर्षा गराउने प्रणाली नेपाल नजिक झन् शक्तिशाली बनेकाले भारी वर्षा हुने विभागले जनाएको छ । विभागले यसअघि नै धान नकाट्न किसानलाई आग्रह गरिसकेको छ । यस्तै ट्रेकिङमा पनि नजान विभागको आग्रह छ । कोशी, बाग्मती, गण्डकी र लुम्बिनीका धेरै स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भीषणदेखि अत्यधिक वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनीका थोरै तथा कोशी, बाग्मती, मधेश, कर्णाली र सुदूरपश्चिमका एक÷दुई स्थानमा भने अति ठूलोे वर्षाको सम्भावना छ । ’रेड अलर्ट’ भएका जिल्लामा झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, उदयपुर, भोजपुर, इलाम र पाँचथर रहेका छन् ।
सिरहा, सप्तरी, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली र रामेछाप रहेका छन् । यसैगरी म्याग्दी, बाग्लुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोरखा, मनाङ, रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, बाँके र बर्दिया, जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यान तथा कैलाली, डोटी र अछाम रहेका छन् ।
उपनिर्वाचन
निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई बिहीबारदेखि दर्ताका लागि भनेको हो । आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई राजनीतिक दल सम्बन्धी ऐन बमोजिम असोज १० गतेदेखि असोज १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन आग्रह गरेको छ ।
दुर्घटना, प्रकोप र रोग व्याधि लगायतका कारण जनप्रतिनिधिको निधन हुँदा अहिलेसम्म स्थानीय तहका विभिन्न ४० पदहरू खाली रहेको निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचन हुनेमा जिल्ला समन्वय समिति प्रमुख २, गाउँपालिका अध्यक्ष २, नगरपालिका प्रमुख १, गाउँपालिका उपाध्यक्ष ४, नगरपालिका उपप्रमुख १, गाउँपालिका वडाध्यक्ष ९ र नगरपालिका वडाध्यक्ष २१ गरी जम्मा ४० पद रहेका छन् । स्थानीय तहमा एक वर्षको पदावधि छँदै कुनै पद रिक्त रहेमा उपनिर्वाचन गराउनुपर्ने व्यवस्था छ ।
साफ फुटबल
एएफसी २० वर्षमुनिको एशियन कप छनोटमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । न्यु ताइपेई सिटीमा आज भएको खेलमा नेपाल उज्बेकिस्तानसँग ६–० गोलले पराजित भयो । समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा कम्बोडियासँग ४–१ गोलले पराजित भएको थियो ।
दोस्रो खेलमा नेपालले घरेलु टोली चाइनिज ताइपेईलाई ३–१ गोलले हराएको थियो । नेपाल ३ खेलमा ३ अङ्कसहित तालिकाको चौथो स्थानमा छ । उज्बेकिस्तान २ खेलमा ६ अङ्कसहित शीर्ष स्थानमा छ । अब नेपालले समूह चरणको अन्तिम खेल शुक्रवार बहराइनसँग खेल्नेछ ।






