आजका प्रमुख सात समाचार
काठमाडौं ।
संसदीय समिति
संसदीय सुनुवाई समितिले समानुपातिक समावेशी सिद्धान्तको आधारमा राजदुत सिफारिस गर्न सरकारलाई निर्देशन दिएको छ । संसदीय सुनुवाई समितिको बैठकले समानुपातिक समावेशी सिद्धान्तसमेतको आधारमा राजदुत सिफारिस गर्न सरकारलाई निर्देशन दिएको हो । समिति सभापति ईश्वरीदेवी न्यौपानले समितिले राजदुत सिफासिर गर्दा संविधानको धारा २८२ को उपधारा १ बमोजिम समावेशी र संसदीय सुनुवाई समितिको कार्यविधि, २०८० को दफा ३ को उपदफा १ बमोजिम समानुपातिक समावेशी सिद्धान्तसमेतको आधारमा सिफारिस गर्न सरकारलाई निर्देशन दिएको जानकारी गराए ।
सभापति न्यौपानेले सरकारले राजदुत नियुक्तिका लागि संसदीय सुनुवाई गर्न सिफारिस गर्दा संसदीय सुनुवाई समितिको कार्यविधिको दफा ३ को उपदफा २ र राजदुत नियुक्ति सम्बन्धी निर्देशिका २०७५ को दफा ३ को खण्ड ६ बमोजिम सम्बन्धित उम्मेदवार वा व्यक्तिको योग्यता लगायतका कानून बमोजिमका सम्पूर्ण प्रमाणित कागजात एकैसाथ राखियस समितिमा सिफारिस गर्न पनि निर्देशन दिए ।
प्रकाशचन्द्र लोहनी
राष्ट्रिय प्रजातन्त्र पार्टीको पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देश आर्थिक रुपले संकटमा जाने अवस्थामा रहेको बताएका छन् । पार्टीको आन्दोलन केन्द्रित प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष लोहनीले देश आर्थिक रुपमा संकटको अवस्थामा रहेको बताएका हुन् । उनले देशको अवस्था कर्मचारीलाई तलव दिन पुग्ने समेत नरहेको भन्दै विकासका काम गर्न नसक्ने अवस्था रहेको उल्लेख गरे ।
उनले ठूला राजनीतिक दलहरुले देशलाई माग्नेको स्थितिमा पुर्याएको बताउए । उनले देशको यस्तो अवस्थामा परिवर्तन वर्तमान शिर्ष राजनीतिक दलका नेताहरुबाट हुन नसक्ने बताएका हुन् । उनले नेताहरु भ्रष्टाचारमा लिप्त भएर एक अर्कालाई बचाउन लागेका भन्दै उनीहरुबाट देशको अवस्था रुपान्तरण हुन नसक्ने बताए । उनले देशको वर्तमान अवस्थालाई परिवर्तन गर्नका लागि व्यवस्थाकै परिवर्तन गर्नुपर्ने बताएका छन् । उनले त्यसका लागि संविधान नै परिवर्तन गर्नुपर्ने बताए ।
महान्यायाधीवक्ता
बैंकिङ कसुर र सहकारी ठगीको मुद्दामा मुद्दा मिलापत्रको लागि बाटो खुला भएको छ । पत्रकार सम्मेलन गर्दै महान्यायाधिवक्ता रमेश बडालले पहिला बैंकिङ कसुरको चेक अनादर मात्रै रहेको तर अहिले सहकारी ऐन अन्तर्गतको कसुर र बैंकिङ कसुरमा मुद्दा चल्ने बताए । ऋण प्रवाहसँग सम्बन्धित भएर गएका विषयवस्तुहरु पनि मिलापत्र गर्न दिनुपर्छ भन्ने निस्कर्षमा आफूहरु पुगेको बताएका हुन् । हालै संसदले दिएको सुझावले पनि पीडितलाई छिटो भन्दा छिटो राहत दिनेगरी अघि बढ्नुपर्न अवस्था रहेको बताएका छन् ।
फौजदारी मुद्दा मिलापत्र गर्ने विषय नेपालमा नयाँ भएको पनि बताए । अहिलेसम्म प्राकृतिक व्यक्तिलाई मात्रै सर्वसाधारण व्यक्ति भन्दै मान्दै आएकामा अब देखि कानूनी व्यक्ति पनि सर्वसाधारण भित्र पर्ने सर्वोच्च अदालतको फैसलापछि कानूनी व्यक्ति अर्थात संस्थाहरुको विषयहरु पनि मिलापत्र भित्र समावेश गर्नेगरी निर्देशन दिएको बताए । अपराधिक विश्वासघात, ठेक्कापट्टासँग सम्बन्धित रहेका कतिपय घटनालाई पनि मिलापत्र गर्नसक्ने अवस्था हेरी व्यवस्था गरिएको बताएका छन् ।
मुख्यमन्त्री सिंह
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जलवायु परिवर्तनको चपेटामा नेपाल परेको भन्दै तीन तहका सरकारले समन्वयकारी भुमिका निभाउनुपर्ने बताएका छन् । मंगलबार महोत्तरीको बर्दिवासमा भएको समुदायमा निर्देशित जलवायु अनुकुलन राष्ट्रिय सम्मेलनमा बोल्दै उनले जलवायु परिवर्तनका असर न्युनिकरणका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुन जरुरी रहेको उल्लेख गरेका हुन् । उनले तीन तहका सरकार मिलेर काम गर्नसके मात्रै जलावयु परिवर्तनबाट नेपाललाई परेका असरहरुको न्युनिकरण गर्न सकिने बताए ।
उनले संघले प्रदेश र स्थानीय तह र स्थानीय तहले प्रदेश र संघ सरकारलाई गाली गरेर समस्याको समाधान नहुने भन्दै सबै एकजुट भइ समस्याको समाधानका लागि काम गर्नुपर्ने बताए । उन ले प्रदेश र स्थानीय तहलाई बजेट कम दिइएको भन्दै असन्तुष्टि जनाए । उनले काम धेरै गर्नुपर्ने तर बजेट सिमित हुने भएकाले संघ सरकारले बजेटको अनुपात बढाउनुपर्ने बताएका छन् ।
मनसुन
आजदेखि मनसुन पुनः सक्रिय भएको छ । मनसुनको सक्रियताका कारण देशभर वर्षा हुने छ । केही दिनयता पानी नपर्दा चर्को घाम सहेकाहरुलाई वर्षाले राहत दिने छ । तर भित्राउन तयार बालीनालीलाई र अन्य कृषिकर्ममा भने यसले असर पुर्याउने जनाइएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले असोज ८ गतेदेखि १२ गतेसम्म सबै प्रदेशमा वर्षाको सम्भावना छ ।
असोज ८ मंगलबार दिउँसोदेखि लुम्बिनी प्रदेशका पश्चिमी भू–भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षा तथा केही स्थानहरुमा मध्यम वर्षाको सम्भावना छ । एक–दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ । असोज ९ गते बुधबारदेखि भने मनसुनी वायुको प्रभाव अझै बढ्ने छ । असोज १० गतेदेखि १२ गतेसम्म पूर्वदेखि पश्चिमसम्मका सबै जिल्ला वर्षाबाट प्रभावित हुनेछन् । सबैभन्दा बढी प्रभाव गण्डकी प्रदेशदेखि सुदू््पश्चिमसम्मका जिल्लामा पर्ने छ । ती क्षेत्रका २७ जिल्लालाई वर्षाबाट उच्च जोखिमको सूचीमा राखिएको छ । महाशाका अनुसार कोशी प्रदेशका इलाम र पाँचथर, गण्डकी प्रदेशका तनहुँ, लम्जुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दी उच्च जोखिमको रेड जोनमा परेका छन् ।
दशैं टिकट
सरकारले आगामी असोज १२ गतेदेखि दशैँका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको छ । मंगलबार यातायात व्यवसायी, यातायात व्यवस्था विभागका प्रतिनिधि र सम्बन्धित सरोकारवाला निकायसँगको उपस्थितिमा भएको छलफलले दशैंका लागि अग्रिम टिकट असोज १२ गतेदेखि खुलाउने निर्णय भएको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार लामो दूरीका सवारी सञ्चालनका लागि घटस्थापना अघि नै सडकको मर्मत गरिसक्ने र यातायात व्यवसायीले पनि अग्रिम टिकट खुलाइ सेवा दिने विषयमा सरकार र यातायात व्यवसायीबीच सहमति भएको छ ।
यात्रुको चाप हुने क्षेत्रमा सहायता कक्षहरू स्थापना गर्ने र यात्रुहरुलाई सहज रुपमा अग्रिम टिकट बुकिङ गराउने समेत निर्णय भएको उनले बताए । दशैँको समयमा काठमाडौँ उपत्यकाबाट करिब २५ लाख सर्वसाधारणहरू बाहिरिने गरेका छन् । यस्तै घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला हुने भएको छ । विभागका अनुसार यात्रुबाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागु हुने गरी रुट परमिट खुला गरिने छ । तर, कुनै बाटोको विशेष प्रकृतिका कारण बाटोमा चल्न निषेध गरिएका आकार–प्रकारका सार्वजनिक सवारीसाधनको बन्देज भने कायमै रहने भएको छ ।
शेयर बजार
शेयर बजार आज पनि उच्च अङ्कले घटेको छ । हिजो ५९ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ५८ दशमलव ९३ अङ्कले घटेर दुई हजार चार सय ७० दशमलव ३९ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज हिमालयन हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले ओरालो लागेको दिन अपर स्याङ्गे हाइड्रोपावर कम्पनीको शेयर भने झन्डै आठ प्रतिशतले बढेको छ । आज तीन सय नौ वटा कम्पनीका एक करोड ५५ लाख कित्ता शेयर पाँच अर्ब ६८ करोड रुपैयाँमा कारोबार भएको छ ।






