परराष्ट्रमन्त्री डा. राणाद्वारा बिपीन जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली युवा विपीन जोशीको सकुशल रिहाइका लागि सहगोग गरिदिन विश्व समुदायसँग आग्रह गरेकी छन् । असंलग्न राष्ट्रहरुको सङ्गठन, नामको मन्त्रिस्तरीय बैठकलाई सोमबार न्युयोर्कमा सम्बोधन गर्दै मन्त्री डा. राणाले जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण गराएकी हुन् । उनले नेपाल बिपीन जोशीको स्वागतका लागि व्यग्र प्रतिक्षामा रहेको भन्दै यसका लागि विश्व समुदायको सहयोगको आग्रह गरेकी छन् ।
गत अक्टोबरमा हमास समूहद्वारा इजरायलमा भएको आतङ्ककारी आक्रमणमा १० जना नेपालीको ज्यान गएको थियो । सो आक्रमणपछि हमासले जोशीलाई अपहरण गरी लगेका थिए । उक्त हिंसात्मक आक्रमणमा परी अरु पनि कैयौँ मानिस मारिएका थिए । नेपाल सरकारले सो हमलाको निन्दा गर्दै जोशीको सकुशल रिहाइको माग गर्दै आएको मन्त्री डा. राणाले सो बैठकमा बताइन् ।
मन्त्री डा. राणाले अहिले पनि विश्वका देशहरु निरन्तर रुपमा जारी रहेका यस्ता द्वन्द्व रोक्न, युद्धबाट सृजित समस्याहरुको समाधान खोज्न र नागरिकमा शान्ति र अमनचयन कायम गर्न चुकेको अवस्था देखिएको पनि बताएकी छन् । परराष्ट्रमन्त्री डा. राणाले गाजामा नागरिकहरुको मृत्यु र यसको सङ्ख्या सुन्दा र देख्दा बडो हृदयविदारक रहेको तथा रुस युक्रेन युद्धमा नागरिकहरुले पाइरहेको दुःख पनि त्यस्तै रहेको भन्दै यस्ता हिंसाजन्य कार्यहरु तत्कालै रोकी समस्याको शान्तिपूर्ण निकास खोज्न आग्रह गर्नुरेकी छन् ।
उनले नेपाल असंलग्न अभियानको एक प्रतिवद्ध सदस्य राष्ट्र रहेकाले सबै देशहरुबीच शान्तिपूर्ण सहअस्तित्वका आधारमा सहकार्य गरी अघि बढ्ने धारणा राख्दै शान्ति र सहअस्तित्वका लागि एक हुन विश्व समुदायलाई अपिल गरेकी छन् ।








