सभापति रवि लामिछानेद्धारा नेता–कार्यकर्तालाई संयमित रहन आग्रह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ताको आइतबार रातीदेखि भीड बढेपछि पार्टीका सभापति रवि लामिछानेले नेता–कार्यकर्तालाई संयमित रहन आग्रह गर्नुभएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ताको आइतबार रातीदेखि नै भीड लागेको हो । बाग्मती मिडिया नेटवर्कका सञ्चालक छबिलाल जोशीलाई प्रहरीले नियन्त्रणमा लिएपछि र रास्वपाका सभापति रवि लामिछानेलाई पनि कास्की अदालतले पक्राउ गर्न अनुमति दिएपछि आकस्मिक रुपमा सभापतिले बोलाएको बैठकमा भेला भएका नेता तथा कार्यकर्तालाई सजक र संयमित रहन सभापति लामिछानेले आग्रह गर्नुभएको छ ।
लामिछाने पक्राउ पर्ने संकेत पाएपछि आइतबार राती रास्वपाका कार्यकर्ता, समर्थक, सञ्चारकर्मी लगायत सर्वसाधारण रास्वपा कार्यालय पुगेका थिए । रास्वपा सभापति लामिछानेका व्यापारिक साझेदार छविलाल जोशी पक्राउ परेपछि रास्वपाले उपलब्ध नेता–कार्यकर्ता पार्टी कार्यालयमा जम्मा हुन खबर गरेको थियो । पार्टी कार्यालयमा कार्यकर्तादेखि शुभेच्छुकहरु गएराति देखिनै भेला भएका हुन् ।
उनीहरुले सरकारविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । यता, चीन भ्रमणमा रहेका उपसभापति स्वर्णिम वाग्लेसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेता आज फर्किँदैछन्। चिनिया पक्षबाट औपचारिक रूपले आएको पहिलो निम्तो मान्न रास्वपाका ७ सांसद र ७ नेता गएका थिए। १० दिने भ्रमणमा उनीहरूले तीन प्रान्तको अवलोकन र द्विपक्षीय अन्तरक्रिया गर्ने कार्यक्रम थियो।






