sevenstartv.com १६ असार २०८३, मङ्गलवार

आजका प्रमुख सात समाचार

५ असोज २०८१, शनिवार स्टार संवाददाता

पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले २०८४ को निर्वाचनपछि नेकपा एमालको तर्फबाट राष्ट्रपति बनाउन सक्नुपर्ने बताएकी छन् । 

शनिवार मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेकपा एमाले मुलुकको निर्णायक राजनीतिक शक्ति बन्न जरुरी रहेको बताइन् । उनले नेकपा एमाले मुलुकको निर्णायक राजनीतिक शक्ति बनी एमालेको तर्फबाट दोस्रो राष्ट्रपति बनाउने प्रयासमा अहिलेदेखि लाग्न जरुरी रहेको बताइन् । उनले छिटोछिटो नेकपा एमाले बलियो भएर एमालेबाट राष्ट्रपति बनाउन आग्रह गरिन् । उनले नेकपा एमाले आगामी निर्वाचनबाट मुलुकमा राष्ट्रिय निर्णायक शक्ति हुन अहिलेदेखि लाग्न जरुरी रहेको बताइन् । उनले २०८४ पछि निर्णायक शक्ति भएर राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष सबै बनाएर मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउन जरुरी रहेको बताइन् ।

उनले जबजको सिद्धान्तलाई मान्नेहरुले लामो समय मुलुकको नेतृत्वमा पुगेपनि भनेजस्तो काम नभएको बताइन् । 

देउवा–शशांक

सत्तारुढ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस–एमालेको सत्ता सहकार्यले मुलुकमा सकारात्मक सन्देश दिएको बताएका छन् । 

सभापति देउवाले सत्ताका लागि कचकच भईरहेका बेला दुई ठूला पार्टीबीचको गठबन्धनले जनतामा आनन्द र खुशी छाएको सभापति देउवाको दाबी थियो । 

शनिवार काभ्रेको धुलिखेलमा विपी कोइरालाको शालिक अनावरण गर्दै उहाँले सत्ता सहकार्य गरेर दलहरुले जनताको पक्षमा काम गर्नुपर्ने बताए । 

सभापति देउवाले पार्टीलाई आगामी निर्वाचनमा कम्तिमा पहिलो पार्टी बनाउने गरी मेहनत गरेर जनताको पक्षमा खटिएर काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । 

कांग्रेसले बढी गफ गर्छ, काम गर्दैन भन्ने गुनासो आईरहेको भन्दै सभापति देउवाले दुःखमा परेका जनताको पक्षमा काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

यस्तै, नेता डा. शशांक कोईरालाले पार्टी नेतृत्वका लागि युवाहरुलाई अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ । नेता कोइरालाले कांग्रेसका युवाहरु अघि बढेकाले उनीहरुलाई नेतृत्वमा ल्याउनका लागि पार्टीले प्रोत्साहित गर्नुपर्ने बताए । शेरबहादुर देउवा सदावहार पार्टी सभापति नहुने भएकाले पनि त्यसमा युवाहरुलाई ल्याउनुपर्ने उनको भनाई थियो ।

नेता कोइरालाले कांग्रेसले बलियो भएर पनि बुहमत ल्याउन नसकेको अवस्थाको अन्त्य हुनेगरी काम गर्नुपर्ने बताए ।

प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालमा शक्ति राष्ट्रहरुको चलखेल बढेको बताएका छन् । 

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले नयाँ शितयुद्ध चलिरहेको र त्यसको केन्द्रबिन्दु नेपाल बन्नसक्ने खतरा विज्ञहरुले औंल्याइरहेको बताए । उनले अहिले असामान्य ढंगको परिस्थिति सिर्जना भइरहेको बताए । अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थिति सामान्य नरहेको बताए । राष्ट्रिय परिस्थितिमा पनि केही असाधारण कुराहरु भइरहेको बताए । उनले अहिले संसार तस्रो विश्वयुद्धको संघारमा रहेको बताए ।

ओली–मोदी भेट

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ । 

संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन अमेरिका पुग्नुभएका ओली र मोदीबीच साइडलाइनमा द्विपक्षीय वार्ता हुने भएको हो । 

आइतबार ओली र मोदीको साइडलाइनमा द्विपक्षीय भेटवार्ता हुनेछ । चौथो पटक ओली प्रधानमन्त्री भएपछि भारतीय प्रधानमन्त्री मोदीसँग पहिलो भेटवार्ता हुन लागेको हो । 

भारतीय प्रधानमन्त्री मोदीसँग न्युयोर्कमा द्विपक्षीय भेटवार्ताको लागि नेपालले केही समयअघिदेखि नै प्रस्ताव गरे पनि नयाँ दिल्लीले कुनै जवाफ दिएको थिएन । तर प्रधानमन्त्री ओली अमेरिका प्रस्थान गरेसँगै भारतले भेटका लागि तयार रहेको बताएको हो । 

यस्तै प्रधानमन्त्री ओलीले यही असोज १० गते संयुक्त राष्ट्र सङ्घको महासभामा सम्बोधन गर्ने कार्यतालिका छ । 

परराष्ट्रमन्त्री राणा

परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले महिलाहरूलाई राजनीतिक वा कुनै संस्थागत क्षेत्रको नेतृत्वमा पुग्न अहिले पनि धेरै चुनौती रहेका बताएका हुन् । 

क्यानडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठकलाई सम्बोधन गर्दै उहाँले महिला समानता तथा समावेशी सहभागिताबारे कैयौँ कानुनी प्रावधान रहे पनि चुनौती कायम रहेको बताएका छन् । लैङ्गिक समानता एवं महिला अधिकारका विषयमा नेपाल र नेपालजस्ता तेस्रो विश्वका मुलुकहरूले झन् धेरै समस्या झेल्नु परिरहेको मन्त्री डा राणाको तर्क थियो । कानुनी अधिकारको उपभोग एवं न्यायमा पहुँचका आधारमा पनि महिला संसारमै पछि परिरहेका उहाँले बताए । उनले महिलाहरूले विश्वव्यापी रूपमा पुरुषले पाएका कानुनी अधिकारहरूको ६४ प्रतिशत मात्र अधिकार उपभोग गर्न सकेको अवस्था रहेको जानकारी दिए ।

दिल्ली मुख्यमन्त्री

भारतको नयाँ दिल्लीको मुख्यमन्त्रीमा आम आदमी पार्टीकी नेता आतिशी मार्लेना नियुक्त भएकी छन् ।

उनले शनिबार उपराज्यपाल भीके सक्सेनासामू पद तथा गोपनीयताको शपथ लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नवनियुक्त मुख्यमन्त्री आतिशीले मन्त्रिपरिषद् पनि गठन गरेकी छन् । 

कैलाश गेहलोत, गोपाल राय, शौरभ भारद्धाज, इमरान हुसेन र मुकेश अहलावत मन्त्री बनेका छन् । मुकेश बाहेक अन्य केजरीवाल क्याबिनेटमा रहेका थिए । ४३ वर्षीया आतिशी दिल्लीको तेस्रो महिला मुख्यमन्त्री हुन् । 

यसअघि भारतीय जनता पार्टी (बीजेपी) की सुश्मा स्वराज र कांग्रेसकी शिला दीक्षित मुख्यमन्त्री भएकी थिइन् । आतिशीको कार्यकाल चार महिनाको हुनेछ । आगामी फेब्रुअरी २०२५ मा विधानसभा चुनाव हुनेछ । आम आदमी पार्टीले केजरीवाललाई नयाँ मुख्यमन्त्रीका रुपमा अघि सारिसकेको छ । 

उनी २०१३ देखि (राष्ट्रपति शासन लागू भएको समय बाहेक) दिल्लीको मूख्यमन्त्री थिए । तर पछिल्लो पटक मदिरासम्बन्धी नीति बनाउने क्रममा भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका थिए । 

करिव ६ महिना हिरासतमा रहेका केजरीवाले छुटेको दुई दिनपछि आफूमाथि झुटो आरोप लागकोले जनताको परीक्षामा जाने भन्दै राजीनामा दिने घोषणा गरेका थिए । 

गत मंगलबार आम आदमी पार्टीको विधायक मण्डलको बैठकले आतिशीलाई दल नेता चुनेको थियो । त्यही दिन केजरीवालले मुख्यमन्त्रीबाट राजीनामा दिए भने आतिशीले आफ्नो नेतृत्वमा सरकार गठनका लागि दाबी पेश गरेकी थिइन ।

एनपीएल

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा भाग लिने खेलाडीको दर्ता प्रक्रिया खुल्ला गरेको छ ।

क्यानका अनुसार अक्सनमा सहभागी हुन चाहने खेलाडीले अनलाइन मार्फत नाम दर्ता गर्न सक्नेछन । अक्सनमा ए बी र सी ग्रेडमा दर्ता गर्न सकिनेछ । 

ए ग्रेडका खेलाडीको न्यूनतम मूल्य १० लाख रुपैयाँ तोकिएको छ । उक्त मूल्य बढीमा १५ लाखसम्म जानेछ । ग्रेडका खेलाडीको न्यूनतम मूल्य ५ लाख राखिएको छ । बी ग्रेडका खेलाडीको उच्चतम मूल्य १० लाख सम्म पाउनेछन् । 

त्यस्तै सी ग्रेडका खेलाडीको न्यूनतम मूल्य २ लाख राखिएको छ । बढीमा ५ लाखसम्म जानेछ । कुनै पनि खेलाडीको दुई टीमले अधिकतम मूल्यभन्दा बढी बोली लगाएमा चिट्ठा थुतिने क्यानका प्रबक्ता छुम्बी लामाले बताए ।

खेलाडीलाई दर्ता गर्न एक हजार शुल्क लाग्नेछ । दर्ताको अन्तिम समय असोज १२ सम्म राखिएको छ । एनपीएल नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म काठमाडौंमा हुँदैछ । एनपीएलमा काठमाडौं, पोखरा, चितवन, विराटनगर, जनकपुर, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली गरी आठ टोली छन ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्