sevenstartv.com १६ असार २०८३, मङ्गलवार

आजका प्रमुख सात समाचार

३ असोज २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं ।

संविधान दिवस

आज देशैभरि ९ औं संविधान दिवस उल्लासका साथ मनाइएको छ । काठमाडौंको सैनिक मञ्च टुँडिखेल लगायत सातै प्रदेशमा भव्यताका साथ संविधान दिवस मनाइएको हो । टुँडिखेलमा भव्य समारोहकाबीच आयोजना भएको समारोहमा नेपाली सेनाको टोलीले शान्तिको प्रतिक परेवा उडाएका छन् ।  हेलिकप्टरबाट पुष्पवृष्टि, सुरक्षा निकायका विभिन्न समूहहरूले कवाज र विभिन्न सांस्कृतिक समूहले झाँकी प्रदर्शन गरेका छन् ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधनमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, सांसद, कर्मचारी, सुरक्षा अंगका प्रमुखलगायत सहभागी थिए । सातै प्रदेशमा विहानै प्रभातफेरि निकालेर विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो । मधेश सरकारले पनि यो पटक संविधान दिवस धुमधामका साथ मनाएको छ । काठमाडौंका दरबारमार्गमा नेशनल डे कन्सर्ट पनि आयोजना भएको थियो । सार्वभौम संविधान सभाबाट २०७२ असोज ३ गते संविधान संघीयतासहितको संविधान जारी भएको थियो । त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले अहिले देशप्रति नकारात्मक टिप्पणी गर्ने समय नभएको बताएका छन्  । राष्ट्रपति निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको समय एकतावद्ध हुने, आफैँप्रति विश्वस्त हुने समय भएको बताए । उनले आफैँभित्र आशाको दियो बाल्नुपर्ने बताए । उनले बेथिति र अनियमितताको अन्त्यमा विशेष जोड दिनुपर्ने पनि बताएका छन् । उनले बेथिति र अनियमितताले हाम्रो राज्यका प्रत्येक अंगहरुलाई विश्वासहिन बनाएको बताए । 

प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई जीवनमय बनाउने बाहेक वर्तमान सरकारको अरू कुनै मुद्दा नरहेको बताएका छन् । संविधान दिवस मुल समारोहलाई सम्बोधन गर्दै उनले काम गरेर देखाउने र गरेकै कामले आशा भर्ने बाहेक वर्तमान सरकारको अर्को एजेण्डा नरहेको स्पष्ट पारे । उनले विकासका लागि स्थायित्व चाहिने भन्दै नीति र राजनीति दुवैमा स्थायित्व आवश्यक रहेको बताए । 

उनले विकासको लागि स्थायित्व अनिवार्य रहेको बताएमन छन् । उनले संविधानलाई समयानुकुल बनाउनुपर्ने उल्लेख गर्दै विद्यमान संविधानका अमिल्दा पक्षमाथि संशोधन गरिने जिकिर गरे । संशोधन प्रक्रियामा संसदको गणितीय सङ्ख्या मात्रै नहेर्ने भन्दै सकेसम्म सबै दलको सहमति प्राप्त गर्ने अधिकतम प्रयास हुने बताएका छन् । 

खुल्यो धरहरा

भूकम्पपछि पुनर्निर्माण गरिएको धरहरा सर्वसाधारणका लागि खुला गरिएको छ । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले ढलेको धरहराको छेउमा उस्तै धरहरा बनेपछि संविधान दिवसको अवसर पारेर सरकारले आजदेखि सार्वसाधारणलाई पनि प्रवेश खुला गरेको हो ।

यही भदौ २७ गते बसेको मन्त्रीपरिषद् बैठकले संविधान दिवसको अवसर पारेर धरहरा खुला गर्ने निर्णय गरेको थियो । तत्कालका लागि निःशुल्क धरहरा अवलोकन गर्न पाउने व्यवस्था गरिएको शहरी विकास तथा भवन निर्माण विभागका अधिकृत वीरसिंह भण्डारीले जानकारी दिए । धरहरा हेर्न जानका लागि आफ्नो परिचय खुल्ने नागरिकता, मतदाता परिचय पत्र, चालक अनुमति पत्र, राहदानीको फोटोकपी मात्रै भएपनि हुनेछ ।


राजदूत अनुमोदन

संसदीय सुनुवाई समितिले सरकारद्वारा विभिन्न १७ देशका लागि प्रश्तावित राजदुतमध्ये १६ जनाको नाम पारित गरेको छ । सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले विभिन्न देशका लागि प्रश्तावित १७ राजदुतमध्ये १६ जना राजदुतको नाम समितिबाट बहुमतले पारित गरेको हो । बैठकपछि निर्णय सुनाउँदै समिति सभापति ईश्वरीदेवी न्यौपानेले उजुरीकर्ताहरुको उजुरी, प्रस्तावित राजदुतको स्पष्टीकरण, कार्यायोजना, भनाइ सुनेर निर्णय लिइएको बताए । 

समितिमा छलफल गरी १६ देशका राजदुत बहुमतले पारित गरेको र श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको सम्बन्धमा केही कागजातहरु अपुरो लागेकाले सचिवालयलाई थप कागज मगाउन निर्देशन दिइएको बताए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले इजरायलका लागि प्रश्तावित राजदुत प्राध्यापक धनप्रसाद पण्डित, दक्षिण अफ्रिकाका लागि प्रश्तावित राजदुत प्रा.डा.कपिल श्रेष्ठ र मलेसियाका लागि प्रश्तावित डा. नेत्रप्रसाद तिमल्सिनामाथि फरक मत राखेको बताए । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले भारतका लागि प्रश्तावित राजदूत शंकर शर्माको लागि फरक मत रहेको बताएका छन् । 

सुपथ मूल्य पसल

सरकारले विधान दिवसको अवसर पारेर बिहीवारदेखि काठमाडौं उपत्यकासहित देशभर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।काठमाडौं उपत्यकामा सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । 

कम्पनीले आगामी माघ २ गतेसम्म ४२ जिल्लाका ७४ स्थानमा पर्वोत्सव सुपथ मूल्य पसल सञ्चालन गर्नेछ । सहुलियत पसलको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अत्यावश्यक वस्तुहरुमा न्युनतम ५ रुपैयाँ सुपथ मूल्य तय गरिएको बताए । उनले सरकारले चाडपर्वमा लक्षित गरेर बजार वस्तुहरु अभाव हुन नदिने गरी पसलहरु सञ्चालनमा ल्याएको बताएका छन् । 

संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघको महासभाले एक गैर बाध्यकारी प्रस्ताव पारित गरेको छ । राष्ट्रसंघको महासभाले बुधबार एक गैर बाध्यकारी प्रस्ताव पारित गरेको बीबीसीले जनाएको छ । प्रस्तावमा इजरायलले कब्जामा लिएको प्यालेस्टाइनको भूभागलाई एक वर्षभित्र छोड्न आह्वान गरेको छ । 

संयुक्त राष्ट्रसंघको १० औं आपतकालीन विशेष सत्रमा कब्जा गरिएको पूर्वी जेरुसेलम र बाँकी प्यालेस्टाइन क्षेत्रमा इजरायली कारबाहीलाई ध्यानमा राख्दै पक्षमा १२४ मत, विपक्षमा १४ र अनुपस्थिति ४३ मतले यो प्रस्ताव पारित भएको थियो । राष्ट्रसङ्घीय सुरक्षा परिषद्का पाँच सदस्यमध्ये संयुक्त राज्य अमेरिका मात्र प्रस्तावको विपक्षमा उभिएको थियो । यूके तटस्थ रह्यो भने चीन, फ्रान्स र रुसले पक्षमा मतदान गरे ।

एन्फा लिग

एन्फा महिला लिगमा दुई विदेशी खेलाडीको सानदार प्रदर्शनसँगै वालिङ नगरपालिकाले चौथो जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा बागमती युथ क्लबलाई ४–० ले पराजित गरेको हो । 

जितसँगै वालिङले ६ खेलबाट १२ अंक जोडेको छ । कोशीलाई पछाडि धकेल्दै वालिङ तालिकाको चौथो स्थानमा उक्लिएको छ । आठौं स्थानमा रहेको बागमतीको चार अंक छ । वालिङका लागि दुई विदेशी खेलाडी ज्याकलिन नस्साली र सिसी एन्टोङ्गोले समान दुई गोल गरिन् ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्