sevenstartv.com १६ असार २०८३, मङ्गलवार

वर्तमान संविधान नेपाली जनताको लामो सङ्घर्षको दस्ताबेज हो : परराष्ट्रमन्त्री

३ असोज २०८१, बिहिवार स्टार संवाददाता

क्यानडा । परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले नेपालको संविधान नेपाली जनताले आफ्ना जनप्रतिनिधिद्वारा संविधान लेख्ने प्रतिज्ञाका साथ गरेको निकै लामो सङ्घर्ष र बलिदानको दस्ताबेज भएको बताएकी छन् । 

क्यानडाको ओटावास्थित नेपाली राजदूतावासद्वारा आयोजित राष्ट्रिय दिवस समारोहलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक शासन व्यवस्थामार्फत संविधान तयार गर्न नेपाली जनताले निकै लामो सङ्घर्ष गर्नुपरेको धारणा राखिन् ।   

क्यानडाली विदेशमन्त्री मेलानी जोलीको आमन्त्रणमा विश्वका महिला विदेश मन्त्रीहरूको बैठकमा सहभागी हुने क्रममा परराष्ट्रमन्त्री ड राणा क्यानडामा छिन् ।

मन्त्री डा. राणाले भनिन्, ‘नेपालको संविधान २०७२ को घोषणा नेपाली इतिहासको एक महत्त्वपूर्ण क्षण हो । यो लोकतान्त्रिक संविधान नेपाली जनताको बृहत् सहभागितामा बनेको समावेशी र प्रतिनिधिमूलक संविधान सभाले निर्माण गरेको हो । त्यसैले यो नेपाली जनताको प्रत्यक्ष सहभागिताबाट निर्माण भएको संविधान हो ।’

विश्वव्यापी रूपमा स्वीकार गरिएका मानवअधिकार र नागरिक स्वतन्त्रताका मान्यताहरूलाई सम्मान गर्नु यो संविधानको एक महत्त्वपूर्ण पक्ष हो भन्दै मन्त्री डा. राणाले यो संविधान शान्ति र समावेशिताको एक प्रतीक रहेको उल्लेख गरिन् ।  

नेपालको यो संविधानले नागरिकका अधिकारहरूको संरक्षण गर्दै कानूनी राज्यको मूल्यमान्यता अनुसार हरेक क्षेत्र र तहका नागरिकलाई आत्मसम्मानका साथ बाँच्ने अधिकार प्रदान गरेको मन्त्री डा. राणाले चर्चा गरिन् । 

परराष्ट्रमन्त्री डा. राणाले यो संविधानले मुलुकमा पछि परेका तथा उपेक्षित अवस्थामा रहेका हरेक समुदायका नागरिक तथा महिलालाई राज्यका सबै निकायमा प्रतिनिधित्व गराई उनीहरूको कानूनी अधिकार सुनिश्चितताको व्यवस्था गरेकाले विश्वकै लोकतान्त्रिक संविधानको एक दस्ताबेज भएको उदाहरण पनि पेश गरिन् । 
    
उनले भनिन्, “मलाई लाग्छ हाम्रो संविधान विश्वकै एक समावेशी संविधान मध्येको एक हो, जसले सङ्घीय संसद र प्रदेश सभामा ३३ प्रतिशत र स्थानीय सरकारमा ४० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरेको छ ।”

यो संविधान कार्यान्वयनमा आएको करिब एक दशकमा नेपालमा राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुखजस्ता राज्यका उच्च निकायमा महिला पुग्न सफल भएको दृष्टान्त पेश गर्दै मन्त्री डा राणाले देशका निजामती कर्मचारी, सुरक्षा निकाय एवं अन्य क्षेत्रमा पनि महिलाको प्रतिनिधित्व बढ्दै गएको उल्लेख गरिन् । । 

त्यस अवसरमा परराष्ट्रमन्त्री डा राणाले नेपालको प्रजातान्त्रिक प्रक्रिया र संविधान लेखनको अभियानमा क्यानडा सरकारले गरेको सहयोगको पनि सराहना गरिन्। प्रजातन्त्र, मानवअधिकार र कानूनी शासनजस्ता आधारभूत विषयहरूमा दुवै देशको समान धारणा रहँदै आएको पनि उनले बताइन् ।     

सो राष्ट्रिय दिवस समारोहमा क्यानडाली र नेपाली समुदायका नागरिकहरू सहभागी थिए । क्यानडाका लागि नेपाली राजदूत भरतराज पौडेलले मन्त्री डा राणासहित समारोहमा सहभागीहरू सबैलाई स्वागत गरेका थिए । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्