रवि लामिछानेले बाहिरै बसेर सहकारी ठगी गरेको पुष्टि भयो : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाहिरबाटै सहकारी रकम ठगी गरेको पुष्टि भएको दाबी गर्नुका साथै क्लिन चिट पाएको भन्नेहरुले छट्टु कुरा गरेको आरोप लगाएका छन् ।
आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा महामन्त्री थापाले लामिछानेले आफूहरुले सोचेभन्दा धेरै करिब ६५ करोड ठगी गरेको पनि संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उल्लेख भएको बताएका हुन् ।
‘सहकारीमा बसेर ठग्नेहरुभन्दा पनि नबसेर ठग्नेहरु धेरै हुँदा रहेछन्। त्यसैले कानूनमा नै के लेखियो भने सहकारीमा बसेर ठग्नेहरु जति दोषी हो, सहकारी नबस्ने तर पैसा लैजानेहरु पनि ठग हो है भनेर। सहकारी खोलेको छ‚ कम्पनी छ। त्यो कम्पनीमा सीधा चेक काटेर करोडौँ कुम्ल्याएको छ‚ यहाँ मेरो सिग्नेचर छैन्न भन्ने कुरा सुन्छु। कसैको पनि सिग्नेचर छैन‚ ठगी कसरी गरिएको छ भने कसैले सिग्नेचर नै गरेको छैन‚’ उनले भने, ‘कम्पनीमा करोड, करोड आएको छ। अनि बसेर चेक काटिएको छ। चेक काटेपछि अहिले आएर के भनिएको छ भने त्यो करोड कहाँबाट आयो, मैले थाहा पाइनँ । चेक मैले काटेको हो तर पनि म दोषी होइन भनेर भनिएको छ।’
‘इन्ट्रेस्टिङ कुरा के छ भने त्यही सम्बन्धित पार्टीको सांसद साथी पनि यो समितिमा हुनुहुन्छ। उहाँले के लेख्नुहुन्छ भने मेरो पार्टीको श्रद्धेय सभापतिले कीर्ते गर्नु भएकाले कीर्तेमा उहाँलाई मुद्दा चलाउनु पर्दछ‚ ठगीमा उहाँलाई मुद्दा चलाउनु पर्छ भनेर लेखेर सिग्नेचर गर्नुहुन्छ‚’ उनले भने, ‘अनि छट्टु भन्ने कि, के भन्नेरु बाहिर आएर ल मैले राम्रोसँग काम गरेर आएँ। तपाईंलाई एउटा पनि दोष लागेको देखिएन। तपाईं आजदेखि क्लिन हुनुभयो भनेपछि ताली पड्किन्छ।’ सहकारीभित्र बसेरभन्दा पनि बढी रकम बाहिरबाटै ठगी गरेको संसदीय छानबिन समितिको प्रतिवेदनले स्पष्ट पारेको उनको दावी थियो ।






