sevenstartv.com १६ असार २०८३, मङ्गलवार

आजका प्रमुख सात समाचार

१ असोज २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडाैं । 

इन्द्रजात्रामा राष्ट्रपति

इन्द्रजात्रामा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल वसन्तपुर पुपगेका छन् । उनी जुद्ध सालिकबाट हिँडेर वसन्तपुर पुगेका हुन् । राष्ट्रपति पौडेललाई काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल लगायतका पदाधिकारीले स्वागत गरेका थिए । अघिल्लो वर्षदेखि राष्ट्रपतिलगायत उच्चपदस्थ व्यक्तिहरू जुद्ध सालिकबाट हिँडेर जान थालेका छन् ।

काठमाडौंको वसन्तपुरमा इन्द्रजात्राको अवसरमा विशेष कार्यक्रम आयोजना हुन्छ । राष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायत उच्चपदस्थहरूलाई इन्द्रजात्रामा सहभागी हुन निम्तो गरिएको थियो । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा-आराधना गरी इन्द्रजात्रा पर्व मनाइँदैछ । राष्ट्रपतिले इन्द्रजात्रा हेर्ने चलन छ । इन्द्रजात्रामा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली पनि पुग्ने कार्यक्रम छ ।

साझा कार्यक्रम

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न गठित चार सदस्यीय कार्यदलले मस्यौदा निर्माणको कामलाई अन्तिम चरणमा पुर्‍याएको छ । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेका दुईरदुई जना नेता सम्मिलित कार्यदलले तीनचार दिनयता गृहकार्य गरेर कार्यक्रमको मस्यौदा तयार पारिरहेका छन् । कार्यदल सदस्य तथा कांग्रेस नेता डा. प्रकाशशरण महतले कार्यदलले काम गरिरहेको भन्दै बुधबार बेलुकासम्म मस्यौदालाई अन्तिम रूप दिने तयारी भएको बताए । 

कार्यदल सदस्यहरूका अनुसार न्यूनतम साझा कार्यक्रम बजेट र सरकारको नीति तथा कार्यक्रमसँग मेल खानेगरी तयार गरिएको छ । कार्यदलमा कांग्रेसका तर्फबाट महामन्त्री गगन थापा र नेता प्रकाशशरण महत छन् भने एमालेबाट उपमहासचिवहरू प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् । नेता महतले कार्यदलले मस्यौदा निर्माणको काम समयमै सकेमा प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जानु अघि नै सार्वजनिक गर्ने तयारी भएको पनि बताए । 

शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचना हटाउन नसकिने बताएका छन् ।कांग्रेसको कानुन विभागले आज पार्टी कार्यालय, सानेपामा आयोजना  गरेको कार्यक्रममा देउवाले प्रदेशलाई अझ प्रभावकारी बनाउनु पर्ने बताएका हुन्  ।

‘प्रदेश संरचना बनिसकेको छ । प्रदेश संरचना हटाउन सक्ने स्थिति छैन’, उनले भने, कसरी अझ प्रभावकारी बनाउने सोच्ने विचार गर्ने हुनसक्छ ।’ उनले समानुपातिक प्रणालीमा प्रश्न उठेपनि समावेशीबारे कसैले प्रश्न नउठाएको बताए ।

राजदूत अस्वीकृत

सरकारले प्रस्ताव गरेका १७ राजदूतमध्ये चार जनालाई स्वीकृत गर्ने विषयमा सत्तारुढ दुई दल कांग्रेस र एमालेबीच मतभेद भएको छ । संसदीय सुनुवाइ समितिमा समेत निर्णायक रहेका दुई दलबीच प्रस्तावितमध्ये १३ जनाको नाम अनुमोदन गर्न सहमति भए पनि मुख्य चार देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गर्ने कि नगर्ने भन्नेमा विवाद भएको हो ।

 १५ सदस्यीय सुनुवाइ समितिमा कुनै पनि प्रस्तावित व्यक्तिको नाम अस्वीकृत गर्न दुई तिहाइ अर्थात् १० जना सांसद चाहिने व्यवस्था छ । र सुनुवाइ समितिको अंकगणितअनुसार कांग्रेस, एमाले र सत्ता पक्षमै रहेको जसपा एक ठाउँमा उभिएको अवस्थामा प्रस्तावित व्यक्तिलाई अस्वीकार गर्न सक्छ । समितिले प्रस्तावित १७ जना राजदूतको सुनुवाइ भदौ २७ गते सकेको थियो । त्यसपछि अनुमोदनबारे निर्णय लिन भदौ ३० गते बैठक बोलाइए पनि कांग्रेस एमालेको मतभेदका कारण बस्दै नबसी स्थगित भएको थियो । 

अब समितिको अर्को बैठक असोज ३ गते बिहान ११ बजेका लागि बोलाइएको छ। समितिमा उजुरीसमेत परेका भारतका लागि प्रस्तावित राजदूत शंकर शर्मा, दक्षिण अफ्रिकाका लागि प्रस्तावित कपिलमान श्रेष्ठ, इजरायलका लागि प्रस्तावित धनप्रसाद पण्डित र मलेसियाका लागि प्रस्तावित डा। नेत्रप्रसाद तिमिल्सिनालाई अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा समितिका सदस्यहरुबीच मतभेद भएको हो ।

ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको संविधानलाई अझै उन्नत बनाउने बेला भएको बताएका छन् । राजधानीमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले संविधान सभाबाट पारित संविधान लोकतान्त्रिक र जनताको भएकाले विगतका कमजोरीहरूलाई सच्याएर अगाडि बढ्नु स्वाभिमानी र सचेत नेपालीहरूको कर्तव्य भएको बताएका हुन् ।

संविधानले आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको पोखरेलको भनाइ छ । उनले संविधान मानव अधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, निष्पक्ष र सक्षम न्यायपालिका कानुनी राज्यको अवधारणलगायत लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध भएको बताएका छन् । 

मुख्यमन्त्री केजरीवाल

भारतको नयाँ दिल्लीको मुख्यमन्त्री आम आदमी पार्टीकी सांसद आतिशी मार्लेना हुने भएकी छन् । मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिने घोषणा गरिसकेका छन् । केजरीवालले पार्टी संसदीय दल बैठकमा नयाँ मुख्यमन्त्रीमा आतिशीको नाम प्रस्ताव गरेकोमा सांसदहरूले उक्त प्रस्ताव अनुमोदन गरेका थिए । आतिशी आम आदमी दल नेता बनेकी छन् ।आतिशी केजरीवाल नेतृत्वको सरकारमा अर्थ, शिक्षा, पर्यटन मन्त्री छिन् ।

आतिशीलाई मुख्यमन्त्री केजरीवालको विश्वास पात्रका रूपमा पनि लिइन्छ। अब मुख्यमन्त्री पदबाट केजरीवालले राजीनामा दिने र नयाँ मुख्यमन्त्री आतिशी हुने आम आदमी पार्टीले निर्णय गरेको भारतीय समाचार संस्था एनडिटिभीले उल्लेख गरेको छ। दिल्लीको मदिरासम्बन्धी नीतिमा घोटाला गरेको भन्दै सिबिआईको हिरासतमा रहेका केजरीवाललाई हालै सर्वोच्च अदालतले १० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

एन्फा लिग

शीर्ष स्थानको विभागीय टोली एपिएफ क्लबले एन्फा महिला लिगमा विजयी यात्रा कायमै राखेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपिएफले संकटा फुटबल क्लबलाई ३-० ले हराएको हो । जितसँगै एपिएफले ६ खेलबाट १६ अंक जोडेको छ ।

समान खेलबाट पाँच अंक जोडेको संकटा सातौं स्थानमा छ । एपिएफको पाँचौं जितमा सरु लिम्बू, अनिता केसी र साविता रानामगरले गोल गरिन् । सरुको गोलमा एपिएफले पहिलो हाफमै अग्रता लिएको थियो । उनले खेलको १३ औं मिनेटमा गोल गरेकी हुन् । अनिताले ५० र सविताले ६४ औं मिनेटमा गोल गर्दै एपिएफलाई तीन अंक दिलाएकी हुन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्