आजका प्रमुख सात समाचार
काठमाडौं ।
सहकारी प्रतिवेदन
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानवीन विशेष समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश भएको छ । प्रतिनिधिसभा बैठका समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानवीन विशेष समितिको प्रतिवेदन पेश गर्नुभएको हो ।
विभिन्न सहकारीहरुको वचत रकम अपचलन भएको भन्दै सो को छानविन गर्नका लागि भन्दै प्रतिनिधि सभाले थापाको संयोजकत्वमा २०८१ जेठ १५ गते ७ सदस्यीय छानविन विशेष समिति गठन गरेको थियो । प्रतिवेदन प्रश्तुत गर्दै सभापति थापाले पार्टीभन्दा माथि उठेर छानविन गरेको बताए । उनले छानविन समितिमा रहेका पाँच पार्टीहरु एकैतिर फर्किएर छानविन गरिएको बताएका छन् ।
केपी शर्मा ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले अमेरिका भ्रमणमा देशको प्रभाव, प्रतिष्ठा र हित तल पर्नेगरी कुनैपनि काम नगर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै ओलीले अोलीले नेपालको शिर ढल्नेगरी, नेपालको इज्जत तल पर्नेगरी नेपालको कुनैपनि हिसावले प्रभाव, प्रतिष्ठा, हित, सरोकार केही पनि तल पर्नेगरी काम नगर्ने बताएका हुन् ।
आसन्न संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा भाग लिनेबरे संसदलाई जानकारी दिँदै उनले आफूले देश र जनताको लागि आज भन्दा पनि बढी भोलिका लागि गर्ने नीति लिएको उल्लेख गर्दैै अमेरिकाको आफ्नो भ्रमणमा पनि सोही कुरालाई शिरोधार्य गरेर छलफल गर्ने बताए । उनले आफूले संयुक्त राष्ट्र संघको भ्रमणबाट फर्केपछि पनि संसदलाई सो बारेमा विस्तृतमा जानकारी गराउने बताएका हुन् । प्रधानमन्त्री ओलीले आफूले सो महासभाका लागि बोल्नै कुनैपनि विषय गोप्य नहुने पनि बताए ।
संसद अन्त्य
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य भएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको चालु अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य भएको घोषणा गरिएको हो । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राति १२ बजेदेखि चालु चौथो अधिवेशन अन्त्य हुने जानकारी दिए । सरकारले चालु अधिवेशन अन्त्यका लागि हिजो राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गरेको पत्र संघीय संसदलाई पठाएका थिए । यता, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राति १२ बजेदेखि चालु चौथो अधिवेशन अन्त्य हुने जानकारी दिए । यस अवधिमा राष्ट्रिय सभाका ४० वटा बैठक बसी जम्मा ७३ घण्टा ५५ मिनेट सभाको काममा व्यतित भएको अध्यक्ष दाहालले बताएका छन् ।
नागरिकता
गृह मन्त्रालयले नागरिकता समस्या समाधानका लागि अध्ययन समिति गठन गरेको छ । गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख टोकराज पाण्डेको संयोजकत्वमा आज पाँच सदस्यीय समिति गठन गरिएको हो । समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव, कानुन मन्त्रालयको उपसचिव, गृह मन्त्रालयको कानुन महाशाखाका प्रतिनिधि र नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव सदस्य रहने छन् ।
समितिलाई असोज १५ भित्र अध्ययन प्रतिवेदन पेस गर्न समयसीमा दिइएको छ । समितिलाई वर्तमान समयमा नागरिकले भोगिरहेका समस्याको पहिचान गर्न कार्यदेश दिइएको छ । समितिलाई आवश्यकता अनुसार नागरिकता सम्बन्धि समस्यामा परेका व्यक्ति तथा विषय विज्ञलाई आमन्त्रित गर्ने सकिने छ ।
कोशी मुख्यमन्त्री
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले २ असोजमा पुन विश्वासको मत लिने भएका छन् । तेस्रो पटक मुख्यमन्त्री बन्नुभएका कार्कीले नेकपा माओवादी केन्द्रले १४ भदौमा समर्थन फिर्ता लिएपछि दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । माओवादी केन्द्रको समर्थनमा संविधानको धारा १६८ को ५ अनुसार २७ वैशाखमा मुख्यमन्त्री बनेका कार्कीले पहिलो पटक वैशाख ३१ गते विश्वासको मत लिएकान थिए ।
गत असार १७ मा एमाले–कांग्रेस गठबन्धन माओवादी केन्द्र सरकार छाडेर प्रतिपक्षमा पुग्यो । ११ साउनमा माओवादी सरकार छाडेको माओवादीले १४ भदौमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । समर्थन फिर्ता लिएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता भएका कारण उनले विश्वासको मत लिन लागेका हुन् । प्रदेशमा बहुमतका लागि ४७ जना आवश्यक पर्छ । ९३ सदस्यीय कोशी प्रदेशसभामा १३ सांसद् रहेको माओवादी केन्द्र, ६ सांसद् रहेको राप्रपाका, ४ सांसद् रहेको नेकपा एकीकृत समाजवादीका ४ र एक सांसद् रहेको जसपा प्रतिपक्षमा छन् ।
शेयर बजार
शेयर बजारमा गिरावट आउनेक्रम सोमबार पनि जारी रहेको छ । बजार निरन्तरजसो घट्दै २५ सयको लेबलमा आएको छ । यस दिन नेप्से परिसूचक ५७ दशमलम ०३ विन्दुले घटेर २५८० दशमलम ७६ अंकमा आएको छ । ७ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।
सबै समूहका सूचक घटेका छन् । बजारले २६ सयको मनोवैज्ञानिक विन्दुलाई पनि छाडेर तल आएको हो । करिब १ महिनायता बजार घट्दोक्रममा रहेको छ । यसअघि ३ हजारसम्म पुगेको नेप्से छोटो समयमै २५ सयको लाइनमा आएको छ । सूचकसँगै कारोबार रकम पनि सुस्त भइरहेको छ । यस दिन ३१२ कम्पनीको १ करोड ७० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३१ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सीइडीबी हाइड्रोपावर अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सानिमा रिलायन्स लाइफ र नेपाल फाइनान्स परेका छन् ।
एन्फा महिला लिग
वालिङ नगरपालिका स्याङ्जाले एन्फा महिला लिगमा तेस्रो जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ५-१ ले पराजित गर्दै तेस्रो जित हासिल गरेको हो । जितसँगै वालिङले पाँच खेलबाट ९ अंक जोडेको छ । वालिङ तालिकाको पाँचौं स्थानमा छ । सुदूरपश्चिम भने अंकविहीन छ ।
वालिङका लागि भायलाले तीन गोल गर्दा ज्याकिलिन नस्साली र सुस्मा तामाङको नाममा समान एक गोल रह्यो । सुदूरपश्चिमकि ऋतिका कार्कीको गोल सान्त्वना रह्यो । पहिलो हाफमै भायलाले ह्याट्रिक पूरा गरेकी थिइन् । त्यसमा ज्याकिलिनले पनि एक गोल थप्दा पहिलो हाफमा वालिङले ४–० को फराकिलो अग्रता लिएको थियो । चारमध्ये तीन गोल पाँच मिनेटको अन्तरालमा भएको हो ।






