आजका प्रमुख सात समाचार
काठमाडौंका प्रशासकीय अधिकृत फेरिए
सरकारले काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारको सरुवा गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४० जना सहसचिवको सरुवा गर्ने क्रममा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका परियारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरेको हो ।
परियारको सरुवा गरेसँगै रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सरोजप्रसाद गुरागाईको सरुवा भएको छ ।
सरुवा सूची अनुसार पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्याकृष्ण थापाको गृह मन्त्रालयमा सरुवा भएको छ भने राष्ट्रिय दलित आयोगका सचिव शिवराज चौलागाईलाई पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर सरुवा गरिएको छ ।
उपनिर्वाचनको मिति
सरकारले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन १६ गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले आगामी मंसिर १६ मा उपनिर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
निर्वाचन आयोगका अनुसार ३ स्थानीय तहमा प्रमुख तथा अध्यक्ष सहित ३९ पद रिक्त छ ।
संसद अन्त्य सिफारिस
रकारले जारी संसद अधिवेशन अन्य गर्ने निर्णय गरेको छ ।
माओवादीले ‘हिंसा’ शब्दलाई लिएर संसद अवरोध जारी राखेपछि आज बसेको मन्त्रीपरिषद वैठकले यो निर्णय लिएको हो ।
भोलि अन्तिम बैठक बस्नेछ ।
नेकपा एमाले
प्रमुख सत्तारुढ नेकपा (एमाले) उपसभामुख इन्दिरा राना मगरको राजीनामा मागेको वा हटाउन खोजिएको कुरामा सत्यता नभएको जिकिर गरेको छ ।
एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले सत्तारुढ दलहरूले उपसभामुख रानाको राजीनामा नमागेको बताए र।
आइतबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकबाट बाहिरिने क्रममा उहाँले उपसभामुखविरुद्ध रास्वपा र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले फायर खोलेको बताए ।
शंकर–गगन
नेकपा एमालेका महासचिव शंकर पोखरेलले चीन र भारतको बढ्दो विकासका कारणले गर्दा पश्चिमा दृष्टिकोणको असर नेपालको राजनीतिमा परिरहेको बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले बदलिएको विश्व परिवेशका सन्दर्भका बारेमा एशियाको विकासका सम्भावनाका बारेमा एशियाकै ज्ञान, सिद्धान्तआधारित विश्व व्यवस्थाको निर्माणका सन्दर्भका बारेमा हामीले विमर्श शुरु गर्नुपर्ने बताए ।
उनले नयाँ विश्व व्यवस्थाका सर्जकका रुपमा चीन र भारत अगाडि आइरहेको बताए । उनले अब पश्चिमाको आँखाबाट नभइ एशियाको आँखाबाट नेपालको समृद्धिका सपना देख्नुपर्ने बताए ।
यस्तै, नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले चीन सरकारले नेपाली राजनीतिक दलप्रतिको आफ्नो नीति स्पष्ट बनाउन नसकेको बताए ।
उनले चीनको सरकारले एकातिर सबै नेपालका दलहरु चीनसँग समान सम्बन्ध राख्नुपर्छ भन्ने र अर्कोतिर वामपन्थीहरु मिल्नुपर्छ भन्दै हिँड्ने गरेको बताए ।
उनले नेपाललाई चीनले बुझ्न नसकेको र नेपालले पनि चीनलाई बुझ्न नसकेको कुरा शर्माको पुस्तक पढेपछि स्पष्ट हुने बताए ।
हाइटी
हाइटीमा इन्धन बोकेको ट्रक विस्फोट हुँदा २४ जनाको ज्यान गएको छ ।
विस्फोटमा ४० जना घाइते भएका छन् । घाइते हुने अधिकांशको शरीर जलेको छ । रोयटर्सका अनुसार उनीहरुले अस्पतालमा पर्याप्त मात्रामा उपचार पाउन सकिरहेका छैनन ।
इन्धन बोकेको ट्रकको ग्यास ट्याङ्की अर्को गाडीले पङ्चर गरेको र इन्धन सङ्कलन गर्न गएकाहरूले विस्फोटमा परेर ज्यान गुमाएको बताइएको छ । हैटी आर्थिक रूपमा कमजोर देश हो । त्यहाँ विभिन्न समूहबीचको लडाइँका कारण सामान आयात गर्न पनि कठिन हुँदै आएको छ ।
एन्फा लिग
एन्फा महिला लिग फुटबलमा आजको पहिलो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कर्णाली प्रदेशलाई हराएको छ ।
ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मदैनमा भएको खेलमा एपीएफले कर्णालीलाई ६–० गोलले हराएको हो ।
एपीएफका लागि रश्मीकुमारी घिसिङले २ तथा निशा थोकर, गीता रानामगर, हिमा रावत र वर्षा ओलीले समान एक गोल गरे ।
यो जीतसँगै एपीएफ पाँच खेलमा १३ अङ्कसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ । समान खेल खेलेको कर्णाली एक अङ्कका साथ नवौं स्थानमा छ ।
आजै भएको अर्को खेलमा चन्द्रपुर नगरपालिकालाई र बागमती युथ क्लब गोलरहित बराबरीमा रोकिएका छन् । दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।
योसँगै पाँच खेलबाट पाँच अंक जोडेको चन्द्रपुर शीर्ष पाँचमा पुग्न असफल बनेको छ । बागमतीको भने समान खेलबाट चार अंक छ ।




