sevenstartv.com १६ असार २०८३, मङ्गलवार

आजका प्रमुख सात समाचार

२९ भदौ २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं ।

ओलीको दाबी

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकारलाई गलत देखाउन केही मानिसहरु टाउको टेकेर हिँडिरहेको टिप्पणी गरेका छन् । 

टाउको टेकेर हेरिदिएपछि अरु सबै मान्छे उल्टो हिँडेको देखिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई गलत देखाउन, एमालेको नेतृत्वमा भईरहेको कामलाई गलत देखाउनका लागि टाउको टेकेर हिँड्ने काम गरिरहेको जिकिर गरे ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले किसानको दुधको वक्यौता रकम तिर्नका लागि सरकारले दुग्ध विकास संस्थानलाई ६० करोेड ऋण दिँदा उल्टो संस्थानलाई ऋण बोकाइयो भनेर टाउको टेकेर हिँड्नेहरुले उल्टो कुरा गरिरहेको बताए।

किसान वक्यौता रकम तिर्नका लागि सरकारले दिएको ६० करोड रुपैयाँलाई पनि दुग्ध विकास संस्थानलाई ऋणको भारी बोकाइयो भनेर कलात्मक ढंगले बेइमानीपूर्ण समाचार दिएको भन्दै प्रधानमन्त्री ओलीले आपत्ति समेत जनाए ।

प्रधानमन्त्री ओलीले सरकारलाई अघि बढ्न नदिने काम भईरहेको बताए ।

प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयबाट कांग्रेस–एमाले आफैँ ब्याक हुने बताएका छन् । 

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष प्रचण्डले उपसभामुख हटाउने एजेन्डाबाट कांग्रेस–एमाले पछि हट्ने विश्वास व्यक्त गरेका हुन् । उनले संवैधानिक परिषदमा प्रधानन्यायाधीश सिफारिसका लागि ८ जनाको नाम सिफारिस भएको बताउँदै उनीहरू सबै उक्त पदका लागि योग्य भएको बताए ।

रिक्त रहेका संवैधानिक पदहरूमा एकै पटक नियुक्त गर्नु राम्रो हुने उनको भनाई थियो । साथै उनले  ‘हिंसा’ शब्दको विषयमा सदनमा भएको बहस नटुङ्गिएसम्म संसद् चल्न नदिने बताए । 

रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठकमा राष्ट्रिय भेलाको बारेमा बृहत छलफल भएको छ ।

पार्टी कार्यालयमा बसेको बैठकमा समसामयिक राजनीतिक, आर्थिक र सामाजिक गतिविधिबारे छलफलको साथै राष्ट्रिय भेलामा सहभागिताको लागि आएको प्रतिनिधिको नाम र रिपोर्टबारे कार्यवाहक महामन्त्रीबाट अपडेट लिएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । 

बैठकमा सुमना श्रेष्ठले अहिले सर्वोच्च अदालतले गरेको फैसला अनुसार उपत्यकाको खोला किनारको मापदण्ड सामान्य व्यवहारभन्दा बाहिर देखिएको धारणा राखेको जानकारी दिए ।

यस्तो अवस्थामा यसबाट प्रभावित क्षेत्रका बासिन्दालाई मकाा परेकाले स्थानीय तहले पनि पुनरावलोकनको माग गरेकोबारे श्रेष्ठले आफ्नो अभिव्यक्ति राखेको पनि उनले बताए । 

सडक भासियो

ललितपुरको कुपण्डोलमा शनिबार प्रमुख सडक भासिएको छ ।

भासिएको सडकबाट ठुलो पानी बगिरहेको थियो । के कारणले सडक भासिएको भन्ने खुलेको छैन । वर्षा नभएको बेला सडक भासिनुले मेलम्चीको पाइप फुटेर सडक भासिएको हुन सक्ने आशंका गरिएको छ । 

सडकमा बगेको पानीले यातायातसमेत प्रभावित भएको छ । पानीको बहावका कारण केही बाइकहरुसमेत लड्न पुगेका थिए । अहिले बगिरहेको पानी भने रोकिएको छ ।

बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा पठन संस्कृति लोप हुँदै गएको बताएका छन् । 

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अहिले पठन संस्कृतिको चलन हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरे । उनले भूमिगत कालमा पञ्चायत बिरुद्ध लड्दा काँग्रेस, कम्युनिष्ट सबै जेलमा हुँदा पनि पठ्ने गरेको स्मरण गरे । तर अहिले अध्ययन गर्ने संस्कृति हराइरहेको बताए ।

उनले काँग्रेसले अध्ययन गर्न छोडिसकेको भन्दै कम्युनिष्टहरु पनि अध्ययनमा रुची राख्न छोडिसकेको बताए । उनले वैकल्पिक शक्तिहरुले अध्ययनमा केही मेहनत गरेपनि अरण्य रोदन जस्तो हुने गरेको बताए ।

कंगो

प्रजातान्त्रिक गणतन्त्र कङ्गोको सैन्य अदालतले राष्ट्रपतिलाई सत्ताच्युत गर्न प्रयास गरेको आरोपमा ३७ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।

३७ मध्ये तीन जना अमेरिकी, एक जना बेलायती, एक जना बेल्जिअन र एक जना क्यानडेली नागरिक रहेका बीबीसीले जनाएको छ । उनीहरुमाथी गएको मे महिनामा राष्ट्रपति निवासमा भएको आक्रमणको नेतृत्व गरेको आरोप लगाइएको छ । 

५१ जना विरुद्ध सैन्य अदालतमा मुद्दा चलाएकोमा १४ जना निर्दोष ठहर भएका छन् । दोषी ठहर भएकासँग पुनरावेदनका लागि पाँच दिनको समय छ । 

गएको मे १९ तारिखको बिहानै राजधानी कन्शासमा भएको एउटा ‘कू’ प्रयासलाई सुरक्षा फौजले निस्तेज पारिदिएको त्यहाँको सेनाले जनाएको थियो । 

डीआर कङ्गोमा झण्डै दुई दशकमा मृत्युदण्ड कार्यान्वयन गरिएको छैन । मृत्युदण्डको सजाय पाउनेले आजीवन कारावास बेहोर्ने गरेका छन् ।

एनपीएल मार्की

आगामी मंसिरको तेस्रो सातादेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) का मार्की खेलाडी २० लाख रुपैयाँ पाउने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आगामी मंसिर १५ देखि पुस ६ सम्म हुने तय छ । उक्त एनपिएलमा खेल्ने आठ फ्रेन्चाइज टोलीका मार्की खेलाडी २० लाख रुपैयाँ पाउने भएका हुन् । 

क्यानले शनिवार काठमाडौंमा आयोजना गरेको मार्की खेलाडी छनोट गर्ने कार्यक्रममा उनीहरूले पाउने पारिश्रमिकबारे जानकारी दिएको हो । शनिवार गोलाप्रथाबाट नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल लुम्बिनी र पूर्वकप्तान सन्दीप लामिछाने विराटनगरको मार्की खेलाडी तय भएका छन् । काठमाडौंले तिब्र गतिका अनुभवी बलर करण केसीलाई मार्की खेलाडीको रूपमा पाएको छ । 

त्यस्तै ओपनर कुशल भुर्तेल पोखरा र अलराउण्डर कुशल मल्ल चितवनको मार्की तय भएका छन् । अर्का ओपनर आसिफ शेख जनकपुर, अनुभवी बलर सोमपाल कामी कर्णाली र दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिमका मार्की खेलाडीका रूपमा छनोट भएका छन् । 

पोखराको स्वामित्व नेपाल टी–२० प्राली, काठमाडौंको स्वामित्व कान्तिपुर पब्लिकेशन र चितवनको स्वामित्व चितवन मेडिकल कलेजले खरिद गरेको हो । लुम्बिनीको स्वामित्व फच्र्युना हेल्थ केयर, जनकपुरको ड्रिम्स स्पोर्ट्स र कर्णालीको स्वामित्व हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्सले खरिद गरेको हो । 

इम्पायर स्पोर्ट्स म्यानेजमेन्टको स्वामित्वमा सुदूरपश्चिम छ । एमएडी ड्रिम स्पोटर््सले विराटनगर दुई करोड पाँच लाख खरिद गरेको थियो । 

पोखराका लागि सबैभन्दा बढी तीन करोड ५७ लाख मूल्यमा खरिद भएको हो । कर्णाली सबैभन्दा कम एक करोड ११ लाखमा हिमालयनले फ्रेन्चाइजी पाएको हो ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्