कोशी सरकारमा सहभागी भयो कांग्रेस
काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी भएको छ । कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ ग्रहण गरेका छन् ।
प्रदेश महामन्त्री भुपेन्द्र राईको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको हो । राईले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनी नेता कृष्णप्रसाद सिटौला पक्षका हुन् । सभापति शेरबहादुर देउवा समूहका खगेनसिंह हाङ्गाम उद्योग कृषि तथा सहकारीमन्त्री र सदानन्द मण्डल पर्यटन, वन, वातावरणमन्त्री बनेका छन् । मण्डल ज्ञानेन्द्रबहादुर कार्की निकट हुन् ।
भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन् । उनी पनि सिटौला पक्षका हुन् । कांग्रेस शेखर कोइराला पक्षविनै कांग्रेस सरकारमा सहभागी भएको हो । शेखर पक्षबाट थप एक मन्त्री र एक राज्यमन्त्री केही दिनपछि सरकारमा सहभागी हुने नेताहरूले बताएका छन् ।
यसअघि नेकपा एमालेबाट रामबहादुर मगर आर्थिक मामिला तथा योजना, पाँचकर्ण राई सामाजिक विकास, एकराज कार्की खानेपानी, सिँचाइ तथा ऊर्जा , लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानूनमन्त्री भइसकेका छन् । सिर्जना राईलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।







