पाँचौँ नेपाल पूर्वाधार सम्मेलन आजदेखि
काठमाडौं । पाँचौँ नेपाल पूर्वाधार सम्मेलन आजदेखि शुरु हुने भएको छ । अपराह्न साढे ४ बजे ताहाचलस्थित होटल सोल्टीमा हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।
‘रणनीतिक लगानीमार्फत् दिगो विकास’ भन्ने मूल नाराका साथ हुन लागेको सम्मेलन दुई दिन चल्नेछ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको आयोजना तथा लगानी बोर्डको कार्यालय र युथ कम्युनिटी फर नेप्लिज कन्ट्र्याक्टर (वाईसीएनसी) को सहआयोजनामा सम्मेलन हुन लागेको हो ।
परिसंघले नेपालमा औद्योगिक वातावरण निर्माण, नवप्रवर्तन प्रवद्र्धन, रोजगारी सिर्जना र समग्र आर्थिक विकासका लागि सरकारसँगको सहकार्यमा सन् २०१४ देखि यो सम्मेलन गर्दै आएको छ । पूर्वाधार विकासमा धेरै लगानी आवश्यक रहेको तर स्रोत अभाव भइरहेको अवस्थामा पूर्वाधार क्षेत्रमा लगानी जुटाउन सम्मेलन गर्न लागिएको जनाइएको छ ।
पूर्वाधार विकासका सन्दर्भमा अन्तर्राष्ट्रिय अभ्यास र नेपालमा त्यसको प्रयोगको सम्भावनाबारे सम्मेलनमा गहन छलफल हुने छ । सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञ, लगानीकर्ता, तीनै तहका सरकार र निजी क्षेत्रका प्रतिनिधिको सहभागिता रहनेछ । सम्मेलनबाट प्राप्त सुझाव सरकारलाई उपलब्ध गराउने परिसंघले जनाएको छ ।






