आजका प्रमुख सात समाचार
काठमाडाैं ।
माओवादी प्रदेश
नेकपा माओवादी केन्द्रले भूगोलका सातवटै प्रदेशको बैठक सम्पन्न गरेको छ । बुधबार मधेश प्रदेशको परामर्श बैठकमा केन्द्रीय पदाधिकारीले सम्बोधन गर्दै समापन गरेका हुन् । मधेश प्रदेशको बैठक समापनमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरु अग्नि सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरु गिरिराजमणि पोख्रेल, हरिबोल गजुरेल, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेतले सम्बोधन गरेका थिए ।
यसअघि बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश, प्रदेश नम्बर १ तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको परामर्श बैठक सम्पन्न गरेको थियो । अब सल्लाहकार समिति, ज्येष्ठ कम्युनिष्ट मञ्च र प्रवास प्रदेशको बैठक सकेर केन्द्रीय समिति बैठकको तयारीमा लाग्ने माओवादी केन्द्रले जनाएको छ ।
केन्द्रीय समिति बैठकपछि संगठन सुदृढीकरण र जनपरिचालनका कार्यक्रम तय गर्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका छन् । अहिले पार्टीभित्र देखिएका सबै समस्या समाधान गरेर अध्यक्ष प्रचण्डकै नेतृत्वमा एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा नेता कार्यकर्ताको जोड रहेको उनले बताएका छन् ।
कोशी सहमति
कोशी प्रदेशसभाको संसदीय समितिको सभापतिमा भागबण्डा टुङ्गो लागेको छ । सातवटा संसदीय समिति रहेको कोशीमा शुक्रबार सभापति छनोट गर्ने कार्यसूची छ । कांग्रेस र एमालेले बुधबार सात वटा समितिको सभापतिमा भागबण्डा टुंगो लगाएको हो ।
कांग्रेस र एमालेले ३–३ वटा लिने सहमति भएको नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । भागबण्डा गर्दा माओवादीलाई एउटा समिति सभापति दिइएको उनले बताए । एमालेले उद्योग पर्यटन तथा वातावरण समिति, प्राकृतिक स्रोत तथा पूर्वाधार समिति र न्याय प्रशासन तथा विधायन समितिको नेतृत्व लिनेछ । नेपाली कांग्रेसले सुशासन तथा योजना समिति, अर्थ समिति, र सामाजिक विकास समितिको सभापतिको नेतृत्व लिने सहमति छ । माओवादी केन्द्रले सार्वजनिक लेखा समितिको सभापति पाउनेछ ।
केपी ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालमाथि पुष्पलाल स्मृति प्रतिष्ठन कब्जा गरेको आरोप लगाएका छन् ।
आमज स्वर्गीय सुवासचन्द्र नेम्वाङको प्रथम वार्षिक स्मृति सभालाई सम्बोधन गर्दै उनले अध्यक्ष नेपालले एमालेले बनाएको पुष्पलाल प्रतिष्ठान निजी सम्पत्तिजस्तो गरेको बताएका हुन् ।
पार्टी विभाजनपछि उक्त प्रतिष्ठान एमालेलाई छोड्नुपर्नेमा अहिलेसम्म खाली नगरेको भन्दै उनले असन्तुष्टि जनाए । उनले पुष्पलाल नभएर माधव नेपाल फुटेर गएको टिप्पणी गर्दै प्रतिष्ठान एमालेले नै पाउनुपर्ने जिकिर गरेका छन् ।
महेश बर्तौला
सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले तत्कालीन माओवादी विद्रोहलाई संविधान र कानूनमा कहीँ पनि जनयुद्ध भन्ने उल्लेख नभएको बताएका छन् । आज प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका सांसदहरुले माओवादी विद्रोहलाई एमालेका सचिव योगेशकुमार भट्टराईले हिंसा भन्नु संविधान विपरित भएको जिकिर गरेका थिए ।
त्यसको जवाफ दिने क्रममा एमालेका प्रमुख सचेत बर्तौलाले संविधान, कानून, विस्तृत शान्ति सम्झौता र हालै पारित भएको टिआरसी विधेयकमा पनि माओवादी विद्रोहमा हिंसा र प्रतिहिंसा भएको स्पष्ट उल्लेख गरेको स्मरण गराउँदै त्यसलाई बिर्सन नमिल्ने बताए । प्रमुख सचेतक बर्तौलाले संसदमा प्रयोग भएको शब्दमाथिको विवाद निरुपण गर्ने सभामुखको अधिकारमाथि धावा नबोल्न पनि माओवादी केन्द्रका सांसदहरुलाई चेतावनी दिए । सशस्त्र द्वन्दको क्रममा हिंसा भयो, प्रतिहिंसा भयो भनेर विस्तुत शान्ति सम्झौतामा नै उल्लेख गरिएको होइन रु भनि माओवादी केन्द्रका सांसदहरुलाई उनले प्रश्न पनि गरे ।
रविको चेतावनी
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपसभामुखलाई हटाउने कदम नचाल्न आग्रह गरेका छन् । आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले बिहीवार आफूले प्रधानमन्त्री ओलीलाई भेटेर उपसभामुखको विषयमा भइरहेको चर्चा परिचर्चाहरुको बारेमा वास्तविकता के हो भनि प्रश्न गरेको बताएका हुन् ।
उनले आफूले यदि उपसभामुखलाई हटाउन लागेको हो भने गलत गर्दै हुनुहुन्छ भनेर सचेत गराएको बताए । उनले दुई तिहाइको शक्ति भएको सरकारको प्राथमिकताहरु धेरै भएको भन्दै शक्तिको सदुपयोग गर्न आग्रह गरेको पनि उल्लेख गरेका छन् ।
नेप्सेमा गिरावट
शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ७३ अङ्कले घटेर दुई हजार ६ सय १० दशमलव २१ विन्दुमा झरेको छ ।
नेप्से पछिल्लो ६ कारोबार दिन लगातार घटिरहेको छ । नेप्से गएको हप्ताको बुधवार ९० दशमलव ७३, बिहीवार १२ दशमलव १० अङ्कले घटेको थियो ।
यस्तै यो हप्ताको आइतवार २५ दशमलव ४६, सोमवार ५५ दशमलव ८६ र हिजो मङ्गलवार १३ दशमलव शून्य नौ अङ्कले घटेको थियो । ६ कारोबार दिनमा शेयर बजार दुई सय २० अङ्कले घटेको छ । आज फाइनान्स, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज एशियन हाइड्रोपावर कम्पनीको शेयर झन्डै सात प्रतिशतले घटेको छ । समग्रमा बजार ओरालो लागेको दिन विन नेपाल लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । केही दिनयता कारोबार रकम पनि घटिरहेको छ । आज तीन सय १७ वटा कम्पनीका एक करोड ५४ लाख कित्ता शेयर ६ अर्ब ८५ करोड रुपैयाँमा कारोबार भएको छ ।
कोशी पराजित
अपराजित कोशी प्रदेशको यात्रामा ब्रेक लगाउँदै विभागीय टोली नेपाल पुलिस क्लब एन्फा महिला लिगको शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा पुलिसले कोशीलाई ४–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै शीर्ष स्थानमा उक्लिएको पुलिसले चार खेलबाट १० अंक जोडेको छ ।
पहिलो हार बेहोरेको कोशी दोस्रो स्थानमा धकेलिएको छ । कोशीले पहिलोपटक विभागीय टोलीसँग प्रतिस्पर्धा गरेको हो । सुरुवातका तीन खेलमा जित हासिल गरेको कोशीको विजयी यात्रामा पुलिस बाधक बनेको हो । कोश्ीको समान खेलबाट ९ अंक छ ।






