sevenstartv.com १६ असार २०८३, मङ्गलवार

आजका प्रमुख सात समाचार

२५ भदौ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडाैं । 

राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले संवैधानिक परिषद्मा सहज बहुमत पुर्‍याउन उपसभामुख इन्दिरा रानाबिरुद्ध महाअभियोग लगाउने तयारी गरिएको भन्दै बिरोध जनाएका छन् । झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली काँग्रेस र नेकपा एमाले सहितका सत्तारुढ दलहरु अहिलेको संवैधानिक परिषद्को गणितलाई सहज बनाउन उपसभामुखलाई हटाउने तयारीमा रहेको बताबताएका हुन् ।  

उनले जनताको असन्तुष्टि छताछुल्ल भइराख्दा पनि राजनीतिक दलहरु सच्चिने बाटोमा नगएको बताए र उनले राजनीतिक दलहरु फेरि पनि जति सकिन्छ लुटौँ, खार्आँ भन्ने बाटोमा गइरहेको आरोप लगाए । उनले सत्तारुढ राजनीतिक दलका लागि देश प्राथमिकतामा नरहेको बताएका छन् । 

पदम गिरी

नेकपा एमालेका सांसद् पदम गिरीले संसदको गरिमालाई बचाउनका लागि उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । 
मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद् गिरीले उपसभामुख रानाले संसद बाहिरका व्यक्तिहरुलाई अमेरिका लान आफ्नो लेटरप्याड प्रयोग गरी दुतावासमा पत्र लेख्नुले संसदको गरिमामा आँच पुगेको बताएका हुन् । 

उनले उपसभामुखको कदमले सांसदहरुको शिर निहुराएको र लज्जित बनाएको बताए । उनले उपसभामुखले पदीय मर्यादा अनुरुप काम गर्न नसकेको भन्दै पदबाट राजीनामा दिन आग्रह गरे । उनले उपसभामुखले संसदको मर्यादा र गरिमालाई कायम राख्न नसकेको बताए । संसदको मर्यादा कायम राख्नका लागि उपसभामुखको राजीनामा आउनुपर्ने उनको भनाई छ । 

माओवादीको चासो

नेकपामाओवादी केन्द्रले काठमाडौं उपत्यकाका नदी किनारका संरचना हटाउने सर्वोच्च अदालतको फैसलाप्रति चासो देखाएको छ ।  माओवादी केन्द्रले मंगलबार एक विज्ञप्ति जारी गर्दै उपत्यकाको नदी किनारामा संरचना निर्माण सम्बन्धी मापदण्ड, नो कन्स्ट्रक्सन जोन र सुकुम्वासी सम्बन्धी विषयमा सर्वोच्चको फैसला तथा सोको कार्यान्वयनका लागि काठमाडौँ महानगरपालिकाले जारी गरेको सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।

माओवादीले उपत्यका भित्रका नगरपालिकाहरुमा निर्माण सम्बन्धी मापदण्ड २०६४” मा तोकिएको दूरीमा २० मिटर थप गरी नयाँ मापदण्ड बनाई त्यसलाई नो कन्स्ट्रक्सन जोन हुने गरी लागु गरिएमा हजारौं वर्षदेखि बसोबास गर्दै आएका आदिवासी, जनजाति, धर्म–संस्कृतिलाई गम्भीर प्रभाव पार्ने निष्कर्ष निकालेको छ । माओवादीले काठमाडौँ उपत्यकावासी जनताको हक, हित, अधिकार र पहिचानको पक्षमा निरन्तर उभिइरहेको र उभिइरहने प्रतिबद्धता समेत गरेको छ ।

शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवाले विपी कोईरालाका बारेमा व्यापक अध्ययन र अनुसन्धान हुन जरुरी रहेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रजातान्त्रिक समाजवाद संसारकै उत्तम समाजवाद भएको जिकिर गरे । उनले विपी कोइरालालाई सानो देशको ठूलो नेताका रुपमा चित्रण गरे । उनले विपीलाई ज्ञान नभएको विषय नै नरहेको बताए । उनले विपीले त्यो बेलामा सबैले गाई पाल्नुपर्छ भनेको तर अहिले सबैलाई दुध खुवाउनुपर्छ भनेर डेरी कन्सेप्ट आएको बताए । विपी कोईराला अलराउण्डर भएको समेत बताएका छन् ।

धनराज गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलेसहकारी छानविन संसदीय विशेष समितिको विषयवस्तुलाई अन्यत्र मोड्नका लागि आफूमाथि सहकारी रकम अपचलनको आरोप लगाइएको बताएका छन् ।  प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेमाथि सहकारी ठगीबारे छानविन गरिरहेका बेला त्यसलाई अन्तै मोड्नका लागि आफूमाथि सो आरोप लगाएको जिकिर गरेका हुन् । 

उपसभापति गुरुङले आफूमाथि आशंका भए तत्काल छानविन गर्न पनि सरकार र संसदको ध्यानाकर्षण गराए । उनले आफूले निष्ठा, नैतिकता र सुशासन प्रर्दशन गर्दै आएको भन्दै त्यसमा प्रतिवद्ध रहेको पनि बताए । उपसभापति गुरुङले मितेरी सहकारीमा आफूले ठगी गरेको हो भने सो सहकारीको पदाधिकारीमाथि पनि छानविन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरेका छन् । 

मन्त्री राजीनामा

लुम्बिनी प्रदेशका मन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन् । बाँकेकी निर्मलादेवी कुर्मीलाई अपहरण गरी बेपत्ता पारेको आरोप लागेका उनी गत साउन ९ गते मन्त्री बनेका थिए । मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारमा उनले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाए । 

जानकी गाउँपालिका परस्पुरकी कुर्मीलाई बादशाहकै निर्देशनमा अपहरण र बेपत्ता पारिएको भनी आफन्त र अधिकारकर्मी आन्दोलित छन् । सरकारी प्रतिवेदनबाट पनि बादशाह दोषी देखिएको दाबी उनीहरूले गरेका छन् । बादशाह नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश सांसद हुन् ।

एन्फा लिग

विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिगमा फराकिलो जित निकालेको छ ।  सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशविरुद्ध शानदार जित निकालेको हो । आर्मीले सुदूरपश्चिम विरुद्ध १४–१ को फराकिलो जित निकालेको हो । जारी प्रतियोगितामा एकै खेलमा भएको यो सर्वाधिक गोल हो । यसअघि अर्को विभागीय टोली नेपाल पुलिस क्लबले सुदूरपश्चिम माथि नै ९ गोल गरेको थियो । आर्मीका लागि दिपा शाहीले पाँच गोल गरिन । 

अनिता लम्जेलले दुई, विमला चौधरी, हिमा चौधरी, चन्दा भण्डारी, सन्जु कुमाल, विमला विक, सावित्री देवी मगरले एक–एक गोल गरिन । आर्मीले १ गोल आत्मघाती पायो । यस्तै सुदूरपश्चिमले पनि १ गोल आत्मघाती पायो । यो जीतसँगै आर्मी ३ खेलमा ६ अङ्कसहित तालिकाको चौथो स्थानमा छ । सुदूरपश्चिम भने ३ वटै खेल हार्दै तालिकाको पुछारमा छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्