उपसभामुखलाई हटाउने तयारीप्रति माओवादीको विरोध
काठमाडौं । नेकपा माओवादी केन्द्रले इन्दिरा रानालाई उपसभामुखबाट हटाउने तयारीप्रति विरोध गरेको छ ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले रानालाई उपसभामुखबाट हटाउने तयारीप्रति पार्टीको विरोध रहेको बताए।
‘माननीय इन्दिरा रानालाई हटाउने कुरा आजका मिडियामा आएको छ । यदि यो सत्य हो भने हाम्रो दल त्यसरी हटाउने कुराको तीव्र प्रतिवाद गर्दछ, विरोध गर्दछ’ उनले भने । यो विषयमा स्पष्ट गर्न सत्तारुढ दलहरूलाई उनको आग्रह छ ।
प्रतिनिधि सभाको बैठकमा एमालेका सांसदहरूले उपसभामुख रानाको राजीनामा मागेका छन् । राजीनामा नदिए पद अनुकुलको आचरण नगरेको भनेर हटाउन बाध्य हुने एमाले सांसदहरूको चेतावनी छ । एमालेका सांसद हेमराज राइले पदबाट हटाउन बाध्य पार्न नहुने बताएका हुन् ।
‘उपसभामुख यो संसदको गरिमामय व्यक्तित्व हो । उहाँबाट यस सन्दर्भ (लागेको आरोप)मा प्रष्टीकरण नआउनु दुख लाग्दो छ । यसकारण उपसभामुखको बारेमा आएको कुरा हो भने सत्य तथ्य संसदलाई जानकारी गराउनुपर्छ । महाअभियोग जस्तो कुरामा सदन अगाडि बढ्ने कुरामा बाध्यकारी स्थिति सिर्जना नगरियोस्’ एमाले सांसद राइले भने ।
एमालेका सांसदहरु सूर्य प्रसाद ढकाल, शोभा ज्ञवाली, सरस्वती र सुब्बाले पनि उपसभामुख रानालाई मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् । सत्तारुढ दलले उपसभामुखको राजीनामा नै मागेपछि विपक्षी दलहरूले विरोध गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले पनि विरोध गरेका छन् ।




