पूर्वमुख्यमन्त्री केदार कार्की आजदेखि आमरण अनशन बस्दै
काठमाडौं । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आजदेखि अनशन शुरु गर्ने भएका छन् । आफ्नो कार्यकालमा घोषणा भएका कार्यक्रम वर्तमान सरकारले कटौती गरेको भन्दै कार्की आमरण अनशन बस्ने भएका हुन् ।
उनले गत संससबाटै मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पठाएको ४८ घन्टे ध्यानाकर्षण पत्रको समय आज ४ बजेदेखि समाप्त हुने भएकाले घोषणाअनुसार आफू अनशन बस्न लागेको बताएका छन् । आज अपरान्ह ४ बजेदेखि अनशन सुरु गर्ने बताए । उनले विराटनगरको देवकोटा चौकस्थित कोशी प्रदेश सभा परिसरमा अनशन बस्ने घोषणा गरेका छन् । आफूले घोषणा गरेका कार्यक्रम जनमुखी भए पनि वर्तमान मुख्यमन्त्री कार्कीले नियतवश कटौती गरेको आरोप लगाउँदै उनले अनशन बस्ने चेतावनी दिँदै आएका थिए ।
पूर्वमुख्यमन्त्री कार्कीले आफ्नो कार्यकालमा घोषणा भएका १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार घोषणा, शैलजा आचार्य हृदयरोग अस्पताल सञ्चालन, हात्तीसहित सबै जंगली जनावरको संरक्षणका लागि जनावरमैत्री जंगल अभियान, महिला स्वयंसेविकालाई प्रोत्साहन कार्यक्रम, विराटनगरमा केसलिया करिडोर निर्माण, विपन्न विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रम, सुकुमवासीलाई जग्गा खरिदमा अनुदान घोषणा, सगरमाथा दिवसलगायतका कार्यक्रम वर्तमान सरकारले कटौती गरेको आरोप लगाउँदै आएका छन् ।
कोशी सरकारले भने पूर्वमुख्यमन्त्री कार्कीले घोषणा गरेका कार्यक्रम कुनै पनि कटौती नभएको र सबैले निरन्तरता पाइरहेको जनाएको छ ।






