sevenstartv.com १६ असार २०८३, मङ्गलवार

आजका प्रमुख सात समाचार

२४ भदौ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं ।

प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकाका नदी किनारमा थप २० मिटर छोड्नुपर्ने सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्न नसकिने बताएका छन् । उपत्यकाव्यापी सडक बिस्तार पीडित संघर्ष समिति तथा खोला मापदण्ड सरोकार समूहसँगको भेटमा उनले सर्वोच्च अदालतको फैसलाबाट आफूलाई ठूलो देखाउन खोज्ने र जनताको वास्ता नगर्ने केही मानिसहरु मात्रै खुशी भएको बताएका हुन् ।

उनले सर्वोच्चको उक्त फैसलाले जनताको स्थायी बसोवास नै मासिने बताए । फेरि नयाँ बिस्तार गर्दा २०/२० मिटर छोड्दा चौथाई काठमाडौं सकिने बताएका छन् । सर्वोच्चको उक्त फैसला पर्याप्त अध्ययन बिना आएको जिकिर गरे । सरकारले निर्णय उपयुक्त नभएको विचार गरी भ्याकेटमा जाने निर्णय लिएको पनि बताए । प्रधानमन्त्री ओलीले सर्वोच्च अदालले जनताका समस्या, जनताका पीरमर्कालाई बुझ्ने बताएका छन् । 

माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको पदाधिकारी निर्वाचनमा आफू कसैको पक्षमा नलागेको स्पष्ट पारेका छन् । 
अध्यक्ष नेपालले केही दिनअघि भएको पार्टीको पदाधिकारी निर्वाचनमा कोही व्यक्ति विशेषलाई जिताउन वा हराउन आफूले चिट नबाँडेको स्पष्ट पारेका हुन् ।

 उनले आफू पार्टी अध्यक्षको रुपमा सबैको साझा व्यक्ति भएको भन्दै निर्वाचनमा कुनै हस्तक्षेप नगरेको बताए । यद्यपि निर्वाचनमा दश प्रकारका चिट बाँडिएको भन्दै चिटमा नाम परेकाहरु हार्ने र नाम नपरेकाहरु जित्ने निर्वाचन परिणाम आएकाले चिटले काम नगरेको स्पष्ट भएको उनको भनाई छ । सबैले निर्वाचनको माग गरेपछि निर्वाचन गर्न बाध्य भएको उनले बताएका छन् । 

एमाले सचिवालय

नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । आगामी २८ भदौको दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले बताए । एमालेले वार्षिक कार्ययोजना तयार पार्न चरणबद्ध बैठकहरु राखिरहेको छ ।

गत १८-१९ भदौमा पोलिटब्यूरो बैठक बसेको थियो । बैठकमा महासचिव शंकर पोखरेलले वार्षिक कार्ययोजनाको प्रस्ताव पेश गरेका थिए । पोलिटब्युरो सदस्यहरुले राखेका सुझावलाई समेटेर कार्ययोजना तयार पार्नेगरी सचिवालय बैठक बोलाइएको हो ।

परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राजदुत नियुक्तिलाई समावेशी बनाइने प्रतिवद्धता जनाएकी छन् । समितिको बैठकमा सांसदहरुले सरकारले विभिन्न १७ देशका लागि गरेको राजदुत नियुक्ति समावेशी नभएको प्रश्न उठाएपछि मन्त्री राणाले आगामी दिनमा समावेशी बनाउने गरी सरकारले सिफारिस गर्ने प्रतिवद्धता जनाएकी हुन् ।

उनले आफूले पनि हुनुपर्ने जति समावेशी र समानुपातिक नभएको महशुस गरेको बताइन् । उनले सरकारले गरेका कामहरुमा समितिले सुझाव दिएपछि नै सरकारले सच्चिने अवसर पाउने धारणा राख्इन् । उनले राजदुत सिफारिसका लागि आफूले मुस्लिम र दलित समुदायको प्रतिनिधित्व खोजेको भएपनि सोअनुसार नपाएको उल्लेख गरीन् । 

उनले कुनैपनि ठाउँमा निर्णायक पदमा महिलाका लागि निश्चित सीमा तोक्नुपर्नेमा जोड दिइन् । उनले निश्चित सहभागिता गराउनैपर्ने बाध्यकारी कानून बनाउनुपर्ने सुझाव दिइन् । उनले राजदुत सिफारिसमा सरकार गम्भीर रहेको पनि स्पष्ट पारीन् । मन्त्री राणाले हरेक सरकारी प्रतिनिधिमण्डलमा एक भन्दा धेरै हुने बित्तिकै एक जना महिलाको उपस्थिति अनिवार्य राख्नैपर्ने निर्णय मन्त्रीपरिषद्को बैठकले गरेको पनि बताइन् ।

रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गोर्खा मिडियामा गलत ढंगले सहकारीको रकम आएको स्वीकार गरेका छन् । धनगढी विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले त्यसमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका हुन् । उनले आफू गोर्खा मिडियामा भएकै कारण अरुले गरेको बदमासीको जिम्मेवारी लिनुपर्छ भन्ने नहुने उल्लेख गरे । उनले संसदको छानविन समितिले समस्या समाधान केन्द्रित भएर प्रतिवेदन दिन्छ भन्ने विश्वास पनि व्यक्त गरे । 

शेयर बजार

सोमबार सेयर बजार परिसूचक नेप्से भारी अंकले घटेको छ । ५५ अंकले घटेको बजार परिसूचक २६४६ अंकमा झरेको छ । सेन्सेटिभ इन्डेक्स पनि २ प्रतिशतले घटेको छ ।सोमबार कारोबार रकम पनि घटेको छ । आइतबार ९ अर्ब ७२ करोडको कारोबार भएको नेप्सेमा आज ९ अर्ब ३७ करोडको कारोबार भएको छ । आज कारोबार भएकामध्ये १४ कम्पनीको मात्रै मूल्य बढेको छ । 

२२७ कम्पनीको मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रह्यो । आज हाथवे इन्भेस्टमेन्ट कम्पनीको मूल्य ९ प्रतिशतले बढ्यो । उन्नति सहकार्य लघुवित्तको मूल्य भने सबैभन्दा धेरै ८ प्रतिशतले घटेको छ । आज नेप्सेका सबै उपसमूहको सूचक घटेको छ ।

एन्फा लिग

एन्फा महिला लिग फुटबलमा स्याङ्जाको वालिङ नगरपालिकाले सङ्कटा क्लब र एपीएएफले चन्द्रपुर नगरपालिकालाई लाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको पहिलो खेलमा वालिङले सङ्कटालाई १-० गोलले हरायो ।

वालिङका लागि सिसी नानटोङ्गोले गोल गरिन् । यो जीतसँगै वालिङ ३ खेलमा ६ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । सङ्कटा ३ खेलमा १ अङ्कसहित आठौं स्थानमा छ । आजै भएको अर्को खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले रौतहटको चन्द्रपुर नगरपालिकालाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा एपीएफले चन्द्रपुर नगरपालिकालाई ६-० गोलले हराएको छ । 

एपीएफका लागि रेनुका नगरकोटीले २ तथा सविता राना मगर, रश्मी घिसिङ, प्रीति राई र गीता रानाले समान १ गोल गरिन् । यो जीतसँगै एपीएफ ३ खेलमा ७ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । चन्द्रपुर ३ खेलमा २ अङ्कसहित सातौं स्थानमा छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्